Below Menu
Below Menu

राष्ट्र बैंकको नीतिले सकारात्मक सन्देश दिएको छ, अब बजार बढ्नुको विकल्प छैन: अध्यक्ष ढकाल

राष्ट्र बैंकको नीतिले सकारात्मक सन्देश दिएको छ, अब बजार बढ्नुको विकल्प छैन: अध्यक्ष ढकाल

काठमाडौं : धितोपत्र ब्रोकर एशोशिएशन नेपालका अध्यक्ष सागर ढकालले नेपाल राष्ट्र बैंकले गतहप्ता सार्वजनिक गरेको एकीकृत निर्देशनले पुँजी बजारलाई केहीहदसम्म चलायमान बनाउन सहयोग गर्ने बताएका छन् ।

‘एकिकृत निर्देशनले सेयर धितोकर्जाको १२ करोड रुपैयाँको सीमालाई केही बढाएको छ, त्यसले लगानीकर्ताको समस्या केहीहदसम्म सुन्ने र बुझ्ने काम भएको छ’, उनले भने, ‘अबका दिनका हामीले एकअर्कालाई दोषारोपण भन्दा पनि सकारात्मक सन्देश दिएका अघि बढ्नु जरुरी छ ।’

विश्व लगानीकर्ता सप्ताह-२०२३ को अवसरमा नेपाल धितोपत्र बोर्डको सहकार्यमा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालको आयोजनामा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा सेयर बजार र घरजग्गा कारोबारीबीच अन्तरसम्बन्ध रहेको बताए । राष्ट्र बैंकको नीतिले घरजग्गा धितो राखेर कर्जा लिन पाउने सीमा बढाउँदा समग्र अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने उनको धारणा थियो । यसैगरी राष्ट्र बैंकले एकै प्रकृतिका कर्जा तथा सापटीको ब्याज अन्तर बढीमा २ प्रतिशत विन्दुभन्दा फरक हुन नपाउने व्यवस्था गर्दा आगामी दिनमा कर्जाको ब्याज सस्तो हुन गई सेयर बजारका लगानीकर्तालाई उच्च ब्याजको पीडाबाट राहत पुग्ने बताए । 

‘यसअघि बैंकहरुले राष्ट्र बैंकको नीति अनुसार एउटै प्रकृतिको कर्जामा ५ प्रतिशत विन्दुसम्म फरक गरेर ब्याज लिर्ईरहेका थिए’, ढकालले भने, ‘उक्त नीतिले अबका दिनमा सेयरधितोमा प्रबाह हुने कर्जाको पनि ब्याज घट्ने छ तसर्थ पुँजी बजार सुधारका लागि नियामकको विरोध मात्रै होइन सकारात्मक सोच लिएर अघि बढ्ने सकेमा बजारको विकास र वृद्धि हुने विश्वास छ ।’
तर, अहिले बजारमा उच्च रुपमा सप्लाई बढ्दा नकारात्मक सन्देश गएको उनको तर्क छ । ‘अर्थशास्त्रको सिद्धान्त अनुसार बजारले गति लिन माग र पूर्तिको नियम लागू हुनुपर्छ,’ उनले भने, ‘तर पछिल्लो समय उच्च रुपमा आईपीओ आउँदा सप्लाईतर्फ उच्च बढ्यो माग सिर्जना हुन सकेन जसको नकारात्मक असर अहिले बजारमा देखियो ।’ अबका दिनमा बजारमा सप्लाई मात्रै बढाउनु भन्दा पनि माग बढाउनेतर्फ नियामक निकायले ध्यानदिनुपर्ने उनको तर्क छ । 

यसैगरी स्वदेशी तथा विदेशी पूँजी आकर्षित गरि ठूलाठूला पूर्वाधार निर्माणदेखि स–साना स्टार्टअपको संचालनको लागि आवश्यक पूँजीको दीर्घकालीन व्यवस्थापन पूँजीबजारबाट गर्नको लागि सहज हुने हुँदा पूँजी बजारको बिकास र विस्तारको विकल्प नरहेको उनको तर्क थियो । 

तथ्यांकलाई नै आधारका मन्दा पछिल्लो विवरण अनुसार हितग्राही खाता (डीम्याट) खोल्नेको संख्या करिब ५९ लाखभन्दा बढी रहेको अहिले सेयर बजारमा धेरै नेपालीहरु आबद्ध रहेकाले यसलाई अबका दिनका सकारात्मक सन्देश फैल्याएर सुधारतर्फ लैजानुको विकल्प नरहेको समेत उनले बताए । अबका दिनमा इन्ट्रा डे ट्रेडिङ, वन्ड मार्केटको विकाश गर्ने तथा मार्जिन ट्रेडिङ सम्बन्धी नीति ल्याउन आवश्यक छ । साथै तत्कालै सेटलमेन्ट फण्ड ल्याउनुपर्ने समेत उनले बताए ।

 

Advertisment