काठमाडौं : हाल सञ्चालनमा वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार असोज महिनाको तुलनामा अधिकांश बैंकहरुले ब्याजदर घटाएका छन् । भने केही बैंकहरुले असोज महिना कै ब्याजदरलाई कायम गरेका छन् ।
बैंकहरुको प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत असोज महिनाको तुलनामा १४ बैंकहरुले कात्तिक महिनाका लागि ब्याजदर घटाएका छन् । त्यस्तै दुई बैंकहरुले ब्याजदर बढाएका छन् भने चार बैंकहरुले भदौ महिनाकै ब्याजरलाई यथावत राखेका छन्।
कात्तिक महिनाका लागि ब्याजदर घटाउने बैंकहरुमा एभरेष्ट, हिमालयन, नबिल, प्राइम कमर्सियल, कुमारी बैंक, ग्लोबल आईएमई, सिटिजन्स इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा, स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास बैंक, सानिमा, नेपाल बैंक, एनआईसी एशिया बैंक र प्रभु रहेका छन् ।
प्रकाशित नयाँ ब्याजदर अनुसार अधिकांश बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.२२४ प्रतिशतमा झरेको छ ।
प्रकाशित नयाँ ब्याजदर अनुसार कात्तिक महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउनेमा एभरेष्ट बैंक रहेको छ । एभरेष्ट बैंकले असोज महिनाको तुलनामा कात्तिकका लागि १.८३ प्रतिशत ब्याजदर घटाएको छ ।
कात्तिकमा हिमालयन बैंकले व्यक्तिगत तर्फ ११.००३ प्रतिशत ब्याजदर कायम गरेको छ । यस्तै नबिल बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत तर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत व्याजदर कायम गरेको छ भने, प्राइम कमर्सियलले व्यक्तिगत तर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत व्याजदर कायम गरेको छ ।
त्यस्तै, कुमारी बैंकले कुमारी बैंकले १०.०१ प्रतिशत, ग्लोबल आईएमईले १० प्रतिशत, सिटिजन्स इन्टरनेशनलले व्यक्तिगत तर्फ ९.६६ र संस्थागत तर्फ ७.९६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाले १०.०१ प्रतिशत ब्याजदर कायम गरेको छ ।
त्यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९.२२ प्रतिशत, कृषि विकास बैंकले व्यक्तिगततर्फ ९.७६ प्रशितत र संस्थागत तर्फ ७.७६ प्रतिशत, सानिमा बैंकले ९.२२४ प्रतिशत, नेपाल बैंकले ९.२२४ प्रतिशत एनआईसी एशिया बैंकले ११.००३ प्रतिशत र प्रभु बैंकले ९.२२४ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
त्यसैगरी ब्याजदर बढाउने दुई बैंकहरुमा एनएमबि बैंक र नेपाल एसबिआई बैंक रहेका छन् । असोज महिनाको तुलनामा यी दुई बैंकको ब्याजदर १.०१३ प्रतिशत बिन्दुले बढेको हो ।
कात्तिक महिनाका लागि ब्याजदर यथावत राख्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, माछापुच्छे बैंक र लक्ष्मी सनराइज बैंक रहेका छन् । उक्त बैंकहरुले असोज महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका हुन ।
हाल यी बैंकहरुको ब्याजदर राष्ट्रिय वाणिज्य बैंकको ९.५ प्रतिशत, सिद्धार्थ बैंकको ९.९९, माछापुच्छेको ९.९९ प्रतिशत र लक्ष्मी सनराइज बैंक १० प्रतिशत रहेको छ ।
Advertisment