Below Menu
Below Menu

१५ कृषकलाई सहकारीको पुरस्कार

१५ कृषकलाई सहकारीको पुरस्कार

तनहुँ : जिल्लाको बन्दीपुर-५, याम्पाफाँटस्थित याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले १५ दुग्ध उत्पादक कृषकलाई पुरस्कृत गरेको छ ।

संस्थाको २७ औँ वार्षिक साधारणसभाको अवसरमा सबैभन्दा बढी दूध बिक्री गर्ने किसानलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको हो । गण्डकी प्रदेशका सांसद एवं नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमान, संस्थाका अध्यक्ष पुष्पराज पौडेलले किसानलाई दोसल्ला ओढाएर गाग्री र नगदसहित पुरस्कृत गरेका थिए ।

यसरी पुरस्कृत हुनेमा नमूना गाई फार्मका सञ्चालक पुष्पराज पौडेल, रमेश ढकाल, काशीनाथ भट्टराई, सुरज गाई फार्मका सुरज घिमिरे, रामनाथ भट्टराई ख, छविलाल घिमिरे, कमला पन्त, सिर्जना गाई फार्मका हरिप्रसाद भट्टराई, ओमप्रसाद लामिछाने र हिमलाल भट्ट छन् । त्यसैगरी दलित समुदायबाट बढी दूध बिक्री गर्ने रामबहादुर सुनार र जनजाति समुदायबाट सबैभन्दा बढी दूध बिक्री गर्ने अशोक थापा मगर पनि पुरस्कृत भएका छन् । त्यस्तै गुणस्तरतर्फ मुना न्यौपाने र झलक क्षत्री, सरसफाइतर्फ कमला पन्थ र ईन्दिरा घिमिरेलाई पुरस्कृत गरिएको हो । जिल्लाकै नमूनाको रुपमा रहेको याम्पाफाँट दुग्ध उत्पादक सहकारीले वार्षिक १२ करोडभन्दा बढीको दूध बिक्री गर्दै आएको छ । 

संस्थाले हाल पोखरामा रहेको सुजल डेरी र स्थानीय डिडी एग्रो प्रालिलाई दूध बिक्री गर्दै आएको संस्थाकी कोषाध्यक्ष जानकी पन्थले जानकारी दिए । कार्यक्रममा गण्डकी प्रदेशका सांसद एवं माओवादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका नेता चुमानले किसानको हकहित र कृषि पेशालाई टिकाइ राख्न प्रदेश सरकारले विभिन्न ठाउँमा कृषि नमूना गाउँ, पकेट क्षेत्र, अनुदानको व्यवस्था लगायतमा योजन निर्माण भइरहेको बताए ।

आगामी दिनमा कृषि क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने योजना रहेको उनले सुनाए । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरलाई कृषि र पर्यटनको माध्यमबाट चिनाउन गाउँपालिकाले महत्वपूर्ण योजना अघि सारेको बताए ।

Advertisment