Below Menu
Below Menu

दुईवटा विद्युत् वितरण सवस्टेसन उद्घाटन

दुईवटा विद्युत् वितरण सवस्टेसन उद्घाटन

काठमाडौं : नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३र११ केभी क्षमताका दुईवटा विद्युत् वितरण सवस्टेसनको उद्घाटन गरिएको छ ।

जर्मन सरकारद्वारा केएफडब्लु विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिकास्थानमा निर्माण गरिएका विद्युत् वितरण सवस्टेसनको उद्घाटन गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र केएफडब्लुका नेपाल तथा बङ्गलादेश क्षेत्रीय कार्यालयका निर्देशक माइकल समशेर हेलिस्टनले संयुक्तरुपमा रातामाटे सवस्टेसन उद्घाटन गरे ।

यसैगरी, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र केएफडब्लुका दक्षिण एशियाका लागि उपनिर्देशक क्रिस्टोफ क्रिगरले संयुक्तरुपमा कालिकास्थान सवस्टेसनको उद्घाटन गरेका थिए । उक्त सवस्टेसनबाट स्थानीयरुपमा विद्युत् आपूर्ति दिइएको छ ।

जर्मन सरकारले केएफडब्लु विकास बैंकमार्फत २०७२ सालको विनाशकारी भूकम्पपछि नुवाकोट र रसुवाको विद्युत् वितरण प्रणाली सञ्जाल पुनःनिर्माण, विस्तार तथा सुदृढीकरणका लागि ५० लाख युरो (करिब रु ७० करोड) अनुदान रकम दिएको थियो

उक्त अनुदान रकमबाट दुईवटा वितरण सवस्टेसन, ३३ केभी, ११ केभी र एलटी लाइन निर्माण गरिएको छ । यसबाट दुई जिल्लाका एक हजार दुई सयभन्दा बढी घरधुरीले भरपर्दो विद्युत् उपभोग गर्न पाउने छन् ।

उद्घाटनमा कार्यकारी निर्देशक घिसिङले नेपालको जलविद्युत्, प्रसारण र वितरणतर्फका आयोजना निर्माणमा केएफडब्लको ठूलो सहयोग रहेको उल्लेख गर्दै सवस्टेसन निर्माणबाट त्यस क्षेत्रका उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाइरहेको बताए । उनले विद्युत् आपूर्ति सुधार भएपछि यस क्षेत्रमा घरेलु उद्योग खोल्न प्रोत्साहन मिल्ने बताए ।

केएफडब्लुका हेलिस्टर्न र क्रिगरले नेपाल र जर्मनीबीचको सम्बन्ध ६० वर्षभन्दा बढी पुरानो रहेको ऊर्जा क्षेत्रमा ४० वर्षदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै अब विद्युत् प्रसारण र वितरणतर्फ सहयोग गर्ने बताए । 

Advertisment

थप समाचार