काठमाडौं : घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर १० गतेदेखि २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत अर्थात १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
जस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा एक अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
उक्त हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले कात्तिक ३ गते बुकक्लोज गरेको थियो । जस अनुसार कात्तिक २ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी ५५करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले घलेम्दी हाइड्रोपावर, मुक्तिनाथ बैंक, मुक्तिनाथ क्यापिटल, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।
Advertisment