काठमाडौं : लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा बढेर गएको छ । नेपाल राष्ट्र बैकले अध्ययन गरेको लघुवित वित्तीय संस्थाहरुका समस्या र समाधान विषयक अध्ययनले यस्तो देखाएको हो । आर्थिक बर्ष २०७०/७१ देखि २०७८/७९ सम्म लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा कुल कर्जाको ३ प्रतिशतभन्दा कम रहेकोमा २०७९ चैत मसान्तमा ७.४३ प्रतिशत पुगेको अध्ययनले देखाएको छ ।
यस्तो उच्च निष्क्रिय कर्जा अनुपातले समग्र लघुवित्त क्षेत्रमा रहेको दबाबको अवस्थालाई सङ्केत गर्दछ । २०७९ चैत मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा रकम उच्च रहेको छ । खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०७९ असारको तुलनामा २.६३ प्रतिशतले घटेर २०७९ चैत मसान्तमा ३ खर्ब ८१ अर्ब ४३ करोड पुगेको छ । यसैगरी २०७९ चैत मसान्तमा निष्क्रिय कर्जा २८ अर्ब ३३ करोड अर्थात ७.४३ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।
२०७९ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात २.५६ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर १८२.१६ प्रतिशत छ जुन गत आर्थिक वर्षको सोही अवधिमा १६.९० प्रतिशतले बढेको थियो। खुद्रा कर्जा प्रवाह गर्ने ५९ वटा लघुवित्त वित्तीय संस्थाहरूमध्ये ५८ वटा (ग्रामीण विकास लघुवित्त वित्तीय संस्था बाहेक) बाट प्राप्त २०७९ चैत मसान्तको तथ्याङ्कलाई विश्लेषण गरिएको अध्ययन समितिले जनाएको छ । यी संस्थाहरूमा कुल ३९लाख ३५ हजार १७१ कर्जा खाता रहेकामा विश्लेषण प्रयोजनका लागि १००० भन्दा कम रकम भएका ४लाख एक हजार ८०६ कर्जा खातालाई हटाई बाँकी रहेका खाताको विश्लेषण गरिएको छ ।
लघुवित्त वित्तीय संस्थामा महिला ऋणीहरूको बाहुल्यता रहेको समेत अध्ययन प्रतिवेदनमा उल्लेख छ । करिब ९८ प्रतिशत ऋणीहरू महिला रहेका छन्। त्यसैगरी, उमेर समूहका आधारमा हेर्दा ३४.६ प्रतिशत ऋणीहरू ३५ देखि ४४ वर्ष, ३०.९ प्रतिशत ऋणीहरू ४५ देखि ६० वर्ष र २६.९ प्रतिशत ऋणीहरू २५ दखि ३४ वर्षका रहेका छन्।
१ हजारभन्दा बढी रकमका खाताहरूमात्र विश्लेषण गर्दा ५८ वटा संस्थाहरूले कुल २३ लाख १ हजार २ सय ९३ ऋणीलाई ३५ लाख ३३ हजार ३ सय २५ कर्जा खातामार्फत कुल ३ खर्ब ७१ अर्ब ५६ करोड कर्जा प्रवाह गरेका छन् । यस तथ्याङ्कले एक ऋणीको एकभन्दा बढी कर्जा खाता रहेको वा बहुबैंकिङ्गको अवस्थालाई देखाएको छ । त्यसैगरी, एक ऋणीको औसतमा १ लाख ६१ हजार कर्जा रहेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
Advertisment