काठमाडौं : सरकारले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । चालु आर्थिक वर्षको लागि मंसिर १ गते अर्थात आजदेखि लागु हुने गरी सरकारले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।
हरेक वर्ष मंसिर १ गते कफीको न्यूनतम समर्थन मूल्य तोकेर सररकाले राष्ट्रिय कफी दिवस मनाउँदै आएको छ । सरकारले निर्धारण गरेको मूल्यमा किसानबाट उद्योगी व्यवसायीले र सर्वसाधारणले कफी किन्न पाउनेछन् ।
चालु आर्थिक वर्षको लागि तीन प्रकारको कफीको न्यूनतम मूल्य निर्धारण गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । बोर्डका अनुसार ए ग्रेडको फ्रेस चेरी कफीलाई प्रतिकिलो १ सय रुपैयाँ मूल्य र बी ग्रेडको फ्रेस चेरी कफीलाई प्रतिकिलो ९० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, पार्चमेन्ट कफीतर्फ ए ग्रेडको कफीलाई ५०० रुपैयाँ र बी ग्रेडको कफीलाई ४५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । त्यसैगरीइ ड्राई चेरी कफीतर्फ ए ग्रेडको कफीलाई प्रतिकिलो २०० रुपैयाँ र बी ग्रेडको कफीलाई १५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
बोर्डका अनु्सार आठ सय मिटरभन्दा माथिको उचाईमा प्राङ्गारिक प्रणालीअनुसार उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने र केलाएर छानिएको चेरीलाई ए ग्रेडको फ्रेस चेरी कफी मानिन्छ भने चिसो प्रशोधन विधि अन्तर्गत प्रशोधन गरी तयार पारिएको ११ प्रतिशत चिस्यान भएको कफीलाई पार्चमेन्ट ए ग्रेडको कफी भनिन्छ ।
त्यसैगरी चिसो प्रशोधन विधिबाट प्रशोधन गर्न नसकिएको कफी चेरीलाई घाम वा अन्य कुनै माध्ययम बाट सुकाएर ११ प्रतिशत चिस्यान भएको कफीलाई ड्राई चेरी ए ग्रेडको कफी भनिएको हो ।
कफीलाई चिया पछिको दोश्रो प्रख्यात पेय पदार्थको रूपमा लिइन्छ ।कफीमा स्फूर्ति ल्याउने क्याफिन (अबााभष्लभ) हुन्छ । यसले मानसिक र शारीरिक थकान मेट्छ, अल्छीपन र निद्रा हटाउँछ । विश्वमा १ सयभन्दा बढी मुलुकले कफी उत्पादन गर्छन् र यीमध्ये ५० जति देश मुख्य कफी उत्पादक देशमा गनिन्छन् ।
नेपालमा उच्च गुणस्तरको कफी उत्पादन गर्ने शीतल र मन्द हावा चल्ने जलवायु छ । पानी नजम्ने भिरालो परेको हराभरा पहाडी भू–भाग प्रशस्त छ । सिंचाई र प्रशोधनको निम्ति आवश्यक पर्ने पानीको स्रोत पनि छ ।तसर्थ, नेपालमा कफी खेतीको प्रचुर सम्भावना छ ।
नेपालमा पाइने सबै कफी १ हजारदेखि १ हजार ६सय मिटरसम्मको उचाइमा उत्पादित अराविका वर्णको टिपिका र बर्बन जातका हुन् । प्राय सबै ठाउँमा हातैले टिपेका कफीहरू हाते वा लघु पल्पिङ मेसिनमा प्रशोधन गरिन्छ ।
अन्य कफी उत्पादक मुलुकहरूको भन्दा भिन्न प्रकारको हावापानी भएकाले नेपाली कफीमा विशिष्ट प्रकारको गुण र बास्ना रहेको कफी पारखीहरू बताउँछन् ।
साथै, नेपालका प्राय सबै कफी प्राङ्गारिक प्रविधिबाट उत्पादित भएकाले नेपाली कफीलाई अन्तर्राष्ट्रिय बजारमा स्पेसियालिटी कफीको रूपमा हेर्ने गरिन्छ । नेपाली कफी खासगरि जापान, अमेरिका र युरोपेली मुलुकहरूमा निर्यात हुने गर्छ ।
Advertisment