Below Menu
Below Menu

टीकापुर उद्यानमा भित्रिए एकै दिन १० हजार पर्यटक, तीन लाख बढी उठ्यो राजस्व 

टीकापुर उद्यानमा भित्रिए एकै दिन १० हजार पर्यटक, तीन लाख बढी उठ्यो राजस्व 

टीकापुर : कैलालीको टीकापुरस्थित टीकापुर उद्यानमा एकै दिन १० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । शनिबार १० हजार छ सय पर्यटकले उद्यानको अवलोकन गरेका छन् । उद्यानमा दसैँ तिहारपछि बनभोज खाने र बाहिरी जिल्लाबाट अवलोकन गर्न आउने पर्यटक बढेका छन् । 

शनिबार पर्यटकबाट रु तीन लाख २५ हजार राजस्व सङ्कलन भएको छ । उद्यानमा यही मङ्सिर १ गते रु एक लाख राजस्व सङ्कलन भएको थियो । उद्यान दसैँ तिहारपछिको यो समय पर्यटकले भरिभराउ हुन्छ । पर्यटकहरु उद्यानमै खाना पकाउने, खाने र त्यही नाचगान गर्दै रमाइलो गर्छन् । थरिथरिका व्यक्ति, थरिथरिका पोशाकमा सजिएकाले उद्यानको दृश्य रमाइलो देखिने गरेको छ । उद्यानका इञ्चार्ज अर्जुन कुँवरले यस वर्षको अहिलेसम्मकै बढी पर्यटक एकै दिन शनिबार भित्रिएका बताए ।

‘‘दैनिक एक हजारभन्दा बढी पर्यटक आइरहेका छन्, शनिबार भने १० हजार भित्रिए’’, उनी भन्छन्, ‘‘बनभोजस्थलमा पानी, खाना पकाउने ठाउँको सुविधा छ ।’’
इञ्चार्ज कुँवर उद्यान किनारमा रहेको कर्णाली नदीमा ¥याफ्टिङ र जेट स्कीको आनन्द लिनका लागि पनि पर्यटक आउने गरेको बताउँछन् । ‘‘उद्यानमा रमाइलो वातावरण, नदी किनारमा रमाउन पनि मिल्ने भएकाले पर्यटक आकर्षित हुने गरेका छन्’’, उनी भन्छन्,  ‘‘सुदूरपश्चिम घुम्न निस्केका पर्यटक उद्यान पुगेरै फर्किन्छन् ।’’

टीकापुर बजारदेखि चार किलोमिटर टाढा कर्णाली नदी किनारमा उद्यान छ । उद्यान ८५ विघा क्षेत्रफलमा फैलिएको छ । बङ्गला क्षेत्र, नर्सरी र बगैँचाले करिब १३ बिघा जमिन ओगटेको छ । उद्यानभित्र टीकापुर विकास समितिले निर्माण गरेको महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यान लगायतका संरचना अवलोकन गर्नेहरु पनि त्यत्तिकै छन् । शान्त वातावरण, चिटिक्क मिलाएका लन सजावट र मौसमी÷बेमौसमी फूलसँग उद्यानमा आउने पर्यटक रमाउने गरेका छन् ।

चितवनबाट घुम्न टीकापुर पुगेका शिक्षक सुरेन्द्र अधिकारी उद्यानमा लगानी गरेको भए बढीभन्दा बढी पर्यटक भित्रिने बताउँछन् ।  ‘‘घुम्न निस्किएका थियौँ, घोडाघोडी ताल घुमेपछि साथीहरुले उद्यान पनि घुमौँ भन्नुभयो, अनी यहाँ आयौँ’’, उनी भन्छन्,  ‘‘यहाँ त स्वर्ग जस्तै रहेछ । पूर्वाधार थप्न सकेको भए उद्यान थप रमणीय बनाउन सकिन्थ्यो ।’’

यस्तै सुर्खेतका सन्दिप ओली उद्यानसँग भएको जमिनको सदुपयोग गर्न लगानी गर्नुपर्ने बताउँछन् ।  ‘‘यहाँ बालबालिका र ज्येष्ठ नागरिक रमाउने खालका पूर्वाधार बनाउन आवश्यक छ’’, उनले भने, ‘‘उद्यानभित्र पनि आम्दानी हुने खालका संरचना निर्माण गर्नुपर्छ ।’’ 

Advertisment

थप समाचार