Below Menu
Below Menu

अधिक तरलता भएपछि दुई सातामै राष्ट्र बैंकले बजारबाट उठायो ४५ अर्ब  

अधिक तरलता भएपछि दुई सातामै राष्ट्र बैंकले बजारबाट उठायो ४५ अर्ब  

काठमाडौं : नेपाल राष्ट्र बैंकले दुई सातामै बजारबाट ४५ अर्ब रुपैयाँ निक्षेप उठाएको छ ।  बैंकिङ प्रणालीमा तरलता थुप्रिदै गएपछि दुई सातामै बैंकले चौथो पटक बजारबाट पैसा उठाउन लागेको हो ।

राष्ट्र बैंकले गत मंसिर ६ गते देखि १४ गतेसम्म ३५ अर्ब रुपैयाँ उठाईसकेको छ भने मंसिर १७ गते १० अर्ब रुपैयाँ निक्षेप उठाउन सूचना प्रकाशित गरेको छ  । बैंक छोटो अवधिमा लगातार रुपमा बजारबाट पैसा उठाउन लागेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हुँदा रिपो मार्फत बजारमा पैसा पठाउने गर्छ भने र बैकिङ प्रणालीमा तरलता थुप्रिदै गएपछि त्यसलाई व्यवस्थापन गर्न बैंकले रिर्भस रिपो मार्फत तरलता खिच्ने गर्छ ।

ब्याजदर करिडोरसम्बन्धी कार्यविधिअनुसार अन्तरबैंक ब्याजदर बैंक दरभन्दा बढी भएको अवस्थामा राष्ट्र बैंकले रिपो जारी गर्नुपर्ने हुन्छ । निक्षेप संकलन दरभन्दा अन्तरबैंक ब्याजदर कम हुँदा निक्षेप संकलन गर्नुपर्ने व्यवस्था रहेको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता बढिरहेको छ अन्तर बैंक ब्याजदर बैंकले तोकेको निक्षेप संकलन दर भन्दा तल रहेको छ । राष्ट्र बैंकले बजारबाट ३५ अर्ब रुपैयाँ उठाउँदासमेत अन्तरबैंक ब्याजदर २ प्रतिशतभन्दा तल नै रहेपछि राष्ट्र बैंकले ७ दिन अवधिका थप १० अर्ब निक्षेप संकलन गर्न लागेको हो ।

निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी मंसिर २४ गते हुने बैंकले जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन् ।

इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ ।

Advertisment

थप समाचार