क्यासवे मनी ट्रान्सफरको विप्रेषण कारोबार बन्द गरिने 

क्यासवे मनी ट्रान्सफरको विप्रेषण कारोबार बन्द गरिने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले क्यासवे मनी ट्रान्सफरको विप्रेषण कारोबार बन्द गर्ने भएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले मंगलबार एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।

राष्ट्र बैंकले भेंडासिङ काठमाडौंमा रहेको क्यासवे मनी ट्रान्सफर प्रालिलाई विप्रेषण विनियमावली, २०७५ (प्रथम संशोधनसहित) को विनियम– ३१, उपविनियम (१) बमोजिम विप्रेषण कारोबार बन्द गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै सरोकारवाला सम्पूर्ण व्यक्ति तथा संघसंस्थालाई विनियमको उपविनियम (२) बमोजिम जानकारीको लागि बैंकले सूचना प्रकाशित गरेको हो ।

कारोबारको सिलसिलामा उक्त कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए सूचना प्रकाशित भएको ३५ दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित रूपमा जानकारी बैंकले आग्रह गरेको छ ।

तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा क्यासवे मनी ट्रान्सफर प्रालिको बैंक जमानत फुकुवा गरिने समेत सूचनामा उल्लेख छ । 
 

थप समाचार