बितेको ४ वर्ष मुलुकको साकोस अभियानले के पायो? सहकारी ऐनले पनि संशोधनको स्वाद चाख्न पायो? साकोस ऐन पायो? खोजेको जस्तो स्थिरीकरण कोष पायो? प्रविधिको चमत्कार पायो? प्रदेश र जिल्ला संघहरुको प्रेम पायो? ब्राण्डिङ कार्यक्रमले विश्वास पायो? तालिम र शिक्षा कार्यक्रमले नवीनता पायो? वासलातको वृद्धि पायो? सीमापारको सञ्जाल सम्बन्ध सबल भयो? नेतृत्वको आचरण र व्यवहारमा समावेशिता पायो? सञ्चारमाध्यमको साथ पायो? आफ्नो गोजीबाट पैसा तिरेर चिया खाने अग्रजहरुले बनाएको नेफ्स्कूनमा सुशासन किन निक्कै परको विषय बिन्यो? बचत ऋण सहकारीहरु भगुवा हुन् भन्ने भाष्य किन र कसरी निर्माण भयो? भाषणमा सञ्जाल सम्बन्धको चर्को विषय उठाउने तर झन् झन् सञ्जाल छिन्नभिन्न कसरी भयो? यस्ता प्रश्नहरुको उत्तर खोजेर मात्र साथीहरुले मत प्रकट गर्नुहुन्छ भन्नेमा म निश्चिन्त छु ।
000
नेफ्स्कूनको नेतृत्व परिवर्तन किन आवश्यक छ? सहकारी अभियानले खोजेको नेफ्स्कूनको नेतृत्व कस्तो हो? नेफ्स्कूनको बलियो इतिहासको संरक्षण गर्न नेतृत्वमा के कस्ता गुण आवश्यक छ? किन अहिलेको नेतृत्व सहकारीका मूल्य, मान्यता र सिद्धान्तबाट स्खलित भयो भन्ने सन्दर्भमा विगतमा नेफ्स्कूनको नेतृत्व गरिसक्नुभएका अग्रजहरुको अभिमत पनि आइसकेको छ । जसरी परिवर्तन अवश्यम्भावी छ, नेफ्स्कूनको नेतृत्व पनि यसपटक अवश्य परिवर्तन हुन्छ । म ढुक्क छु । नयाँ नेतृत्व नयाँ विचार बोकेर आउँछ । नयाँ विचारले नयाँ बहस जन्माउँछ । नयाँ बहसले नयाँ आशाका किरणहरु छर्छ । त्यसैले पनि अन्धकारमा फसेको साकोस अभियानलाई प्रकाश छर्न नयाँ नेतृत्व आवश्यक छ ।
000
मैले गाली गर्नका लागि गरेको होइन । वास्तविकता बताएको हुँ । आगामी निर्वाचनको लागि प्रतिनिधि मनोनयन फारम बुझाउने काम अस्ति सकिएसँगै अब साकोस अभियान पूर्ण रुपमा निर्वाचनमा होमिएको छ । अबको एक साता देशभरका प्रतिनिधि साथीहरुको लागि एकदमै महत्वपूर्ण समय हो । वास्तविकता बुझ्ने, विवेकसम्मत् निर्णय गर्ने समय हो । हिजोसम्म केही अलमल र दोधारमा रहनुभएका साथीहरुले साँच्चिकै छातीमा हात राखेर आफैले आफैलाई प्रश्न गर्ने बेला आएको छ, ‘के चार वर्षअघिको मेरो निर्णय सही थियो ? मैले जे अपेक्षा गरेर अभिमत जाहेर गरेको थिएँ त्यो पाए ? अब फेरि त्यही गल्ती गरे भने अर्को चार वर्ष समय खेर जान्छ । समय अमुल्य छ, अभियान असरल्ल छ, हिजो गरेको गल्ती सच्च्याउने मौका छ । म यो पटक दुरगामी महत्व राख्ने निर्णय गर्छु जसले नेपालको साकोस अभियानको भविष्य निर्माण गर्नेछ ।’ बाटो बिराएको अभियानलाई दिशाबोध गराउन मसँग सुस्पष्ट योजना छ । मैले प्रतिबद्धता पत्र पनि सार्वजनकि गरेको छु । कानूनी तथा नीतिगत गाँठाहरु फुकाउने, साकोस ऐनको लागि बालुबारदेखि सिंहदरबारमा धर्ना दिने, सञ्जाल व्यवस्थापनलाई बलियो र समावेशी बनाउने, प्रदेश र जिल्लासंघहरुलाई साथमा साथ लिएर हिड्ने र नेफ्स्कूनमाथिको गुमेको विश्वास फर्काउने मेरो प्रमुख काम हुन् । गर्न नसक्ने काम म भन्दिन र भनेको काम नगरी छोड्दिनँ ।
000
म विगत २४ वर्षदेखि अभियानभन्दा अलग भएको छैन । बेदाग र निस्वार्थ छु । कर्म गर्न .पछि परेको छैन । असहजताकाबीच पनि अवसरहरुको खोजी गरी देशभरका साथीहरुसम्म पुगेको छु । उहाँहरुको सुख दुःखमा साथ दिएको छु । म सुखभोगी छैन । दुःखहरुसँग भिजेको छु । अभियानका आवश्यकताहरुको बोध छ । खाली बोध मात्र होइन समाधानका बाटाहरु पनि मैले देखेको छु । अब खाली यात्रारम्भ गर्न बाँकी छ । त्यो नयाँ यात्रा शुरु गर्न अब मात्र सात दिन बाँकी छ । निर्वाचन अगाडिका मेरा प्रतिबद्धताका पोकाहरु निर्वाचित भएको ‘डे वन’ देखि नै फुकाउन थाल्छु । किनकि ४ वर्षभित्र मैले थुप्रै काम गर्नुछ । साकोस अभियानको नेतृत्व लिएपछि काम गर्ने हो, अहोरात्र खट्ने हो । अहिले पनि तपाईहरुले देखिरहनुभएको छ, मैले व्यक्तिगत रुपमा देशभर पुगेर अभिमत संकलन गरेको छु । साथीहरुका अपेक्षाहरु बुझेको छु, उहाँहरुको चाहना र नेतृत्वको व्यवहारमा किन आकाश जमिनको फरक भयो थाहा पाएको छु । तिनै चाहना र अपेक्षाहरु अबको नेफ्स्कूनको रणनीतिमा प्रतिविम्बित हुन्छ । ४ वर्ष काम गर्छु । यसबीचमा उत्तराधिकार योजना तयार पारेर अर्को सक्षम नेतृत्वलाई हस्तान्तरण गर्छु । एकपटक अवसरको आग्रह गरेको हुँ । पटकपटकका लागि होइन । म पदलोलुप होइन । नेपालको साकोस अभियानको लागि अमिट छाप छोड्ने काम गर्ने धित छ । साकोस अभियानले बोलीमा होइन नीति विधि र प्रविधमा सारुप्यता खोजेको छ । त्यसका लागि महत्वाकांक्षी योजना होइन वास्तविकतासहितको दिशाबोध आवश्यक छ । मसँग बोली होइन व्यवहार छ ।
000
भनिन्छ, निर्वाचन केवल अर्को एक निर्वाचनसम्मको लागि मात्र प्रतिस्पर्धा होइन, अर्को पुस्तासम्मको लागि प्रतिस्पर्धा हो । एउटा निर्वाचनको विजय पराजयले केवल अर्को निर्वाचनसम्म मात्र होइन अर्को पुस्तासम्मलाई असर पार्दछ । हिजोको निर्वाचनमा गरेको गल्तीका बाछिटाहरु अर्को पुस्तासम्म पुग्नेछ । त्यसैले साथीहरुलाई सादर अनुरोध गर्दछु, संयमित भएर निर्णय गर्ने बेला यही हो । मलाई विश्वास छ, पुस ८ गतेको अभिमतले यही पुष्टि गर्नेछ ।
(नेफ्स्कूनको आसन्न निर्वाचनमा अध्यक्ष पदका दाबेदार चन्द्रप्रसाद ढकालसँग गरिएको कुराकानीमा आधारित)
Advertisment