काठमाडौं : धुलिखेलस्थित चारतारे होटल सञ्चालन गरिरहेको होटल सारथी लिमिटेडले एक वर्षमा १८ करोड रुपैयाँको आम्दानी गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा पनि १८ करोड रुपैयाँ नै थियो ।
होटलको सञ्चालन आम्दानी यथावत रहँदा नाफा मार्जिन ५६.६४ प्रतिशत कायम भएको छ । जुन अघिल्लो वर्षको ५६.८४ प्रतिशतको तुलनामा सामान्य मात्र कम हो ।
त्यस्तै, कम्पनीको कुल नगद आम्दानी सन् २०२५ मा ५ करोड २० लाख रुपैयाँ रहेकोमा सन् २०२६ मा बढेर ६ करोड २० लाख रुपैयाँ पुगेको छ ।
होटलको पुँजी संरचनामा समेत उल्लेख्य सुधार देखिएको छ । सन् २०२५ मा १.७८ गुणा रहेको समग्र गियरिङ अनुपात सन् २०२६ मा घटेर १.१३ गुणामा झरेको छ । कम्पनीको नेटवर्थमा भएको वृद्धि र इक्विटी थपिएका कारण यस्तो सुधार आएको हो ।
त्यस्तै, ब्याज कभरेज रेसियो २.०३ गुणाबाट बढेर २.५५ गुणा पुगेको छ । कुल ऋण र कुल नगद आर्जनबीचको अनुपात पनि १०.८१ गुणाबाट घटेर ८.२७ गुणामा झरेको छ । ।
होटल सारथीले सन् २०१९ जुनमा २० कोठाबाट व्यावसायिक सञ्चालन सुरु गरेको थियो । त्यसपछि क्रमशः क्षमता विस्तार गर्दै सन् २०२५ सम्ममा कोठा संख्या ७४ पुर्याएको थियो । सन् २०२६ विस्तारित क्षमतामा होटलले पूर्ण वर्ष सञ्चालन गरेको पहिलो आर्थिक वर्ष हो ।
क्षमता विस्तारपछि होटलको अकुपेन्सी दर सन् २०२४ मा ४६ प्रतिशत रहेकोमा सन् २०२५ मा बढेर ५१ प्रतिशत पुगेको थियो । आर्थिक वर्ष २०२६ मा पनि यो दर ५१ प्रतिशतकै हाराहारीमा स्थिर रहेको छ ।
सन् २०२५ मा कुल आम्दानीको ४६ प्रतिशत हिस्सा ओगटेको खाद्य तथा पेय पदार्थ (फुड एन्ड बेभरेज) व्यवसायको योगदान सन् २०२३६ मा बढेर ४९.३ प्रतिशत पुगेको छ ।
कम्पनीको वित्तीय अवस्था र कर्जा भुक्तानी क्षमतामा सुधार देखिएसँगै कम्पनीको क्रेडिट रेटिङमा सुधार भएको छ । रेटिङ एजेन्सीले कम्पनीलाई ‘केयर–एनपी बीबी माइनस (इस)’ इश्युअर रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने सम्बन्धमा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।
होटलका कार्यकारी अध्यक्ष प्रह्लाद प्याकुरेल रहेका छन् । होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबा २९ किलोमिटर दूरीमा रहेको होटलले हिमाली दृश्यावलोकन, धार्मिक तथा सांस्कृतिक सम्पदा र साहसिक पर्यटनका लागि प्रख्यात धुलिखेलको पर्यटकीय सम्भावनाबाट लाभ लिन सक्ने देखिन्छ ।
धुलिखेल काठमाडौँ उपत्यका सांस्कृतिक पदयात्रा मार्गको महत्वपूर्ण गन्तव्य हुनुका साथै तिब्बततर्फ जाने पर्यटक तथा माउन्टेन बाइकिङ गर्नेहरूका लागि समेत आकर्षक गन्तव्य मानिन्छ ।
होटल सारथी लिमिटेड सन् २०१४ अक्टोबरमा निजी कम्पनीका रूपमा स्थापना भएको थियो । पछि २०२५ जुलाई १५ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो। काभ्रेपलाञ्चोकको धुलिखेलमा २.९३ एकड क्षेत्रफलमा फैलिएको होटलले ‘होटल सारथी’ नामबाट चारतारे होटल सञ्चालन गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन बैंक सुविधातर्फ ५९ करोड रुपैयाँ र अल्पकालीन बैंक सुविधातर्फ एक करोड रुपैयाँ गरी कुल ६० करोड रुपैयाँ बराबरको बैंक कर्जा सुविधाको रेटिङ गराएको छ ।