काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठले १६ औं योजनाको मस्यौदा माघमसान्तभित्र आउने बताएका छन् । बिहीबार राष्ट्रिय योजना आयोगद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।
साथै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेश हुने समय पनि परिमार्जन गर्न लागेको छ । आयोगका सहसचिव यमलाल भुसालले बजेटको समयसीमा परिमार्जन गर्न लागिएको बताए ।
प्रत्येक वर्ष सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्रीबाट विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश हुने तथा राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएपनि त्यसको समयसिमामा केहि कमजोरी भेटिएको बताएका हुन्।
नीति तथा कार्यक्रम र बजेट सार्वजनिकको समय ज्यादै साँघुरो भएपछि कसबै सांसदहरुले पूर्ण रुपमा आफ्नो राय प्रस्तुत गर्न नसकिएको गुनासो आएको उनले बताए ।
त्यसैगरी बजेटमा राष्ट्रिय आयोजना बैंक प्रविष्ट भई आवश्यक मापदण्ड पूरा गरेका आयोजना र कार्यक्रममा मात्र बजेट विनियोजन गरिने भएको छ भने मापदण्ड पूरा नगरेका आयोजनालाई बजेटमा समावेश गरिने जनाएको छ।
सामाजिक सुरक्षाको व्ययभार बढ्दै गएको पनि आयोगले जनाएको छ।
Advertisment