Below Menu
Below Menu

लाभांश र हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न पाँच कम्पनीले डाके साधारणसभा 

लाभांश र हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न पाँच कम्पनीले डाके साधारणसभा 

काठमाडौं : लाभांश र हकप्रद जारी गर्ने प्रस्तावसहित पाँच कम्पनीले साधारणसभा बोलाएका छन् । नेपाल टेलिकम, छिमेक लघुवित्त र आत्मनिर्भर लघुवित्तले लाभांश र दोर्दी खोला जलविद्युत र राप्ती हाइड्रोले हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएका हुन् ।

नेपाल टेलिकमले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा बोलाएको छ ।सो सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने, सर्वसाधारण समूहको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्दैछ । जसअनुसार पुस १८ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा डाकेको छ ।

सो सभा आइतबार, होटल सामना प्रालिको सभाहल, मकवानपुर, हेटौँडामा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले पुस १७ गते देखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस १६ गतेसम्म कायम भएका शेयरधनीहरुले लघुवित्तको साधारण सभामा भाग लिन र संस्थाले  वितरण गर्ने लाभांश पाउनेछन् ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते साधारण सभा बोलाएको छ ।

सो सभा होटल माला ईन, घोराही, दाङमा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समूहबाट २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि संस्थाले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस १२ गतेसम्म कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा भाग लिन र संस्थाले वितरण गर्ने लाभांश पाउनेछन् ।

त्यसैगरी हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गर्न साधारण सभा दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साधारण सभा डाकेका छन्।

यी दुबै कम्पनीले पुस २९ गते, आइतबार साधारण सभा डाकेका हुन् । दोर्दी खोलाको साधारण सभा हिमशिखर पार्टी भेन्यू, चापागाउँमा बिहान साढे ८ बजे शुरु हुनेछ भने राप्ती हाइड्रोको सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा दिउँसो साढे २ बजे शुरु हुनेछ ।

दोर्दी खोलाको सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

त्यस्तै, राप्ती हाइड्रोको सभाले पनि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ यी दुबै कम्पनीहरुले पुस १५ गते बुकक्लोज गर्ने भएका छन्। यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्