Below Menu
Below Menu

पशुपति सहकारी विरुद्ध एक अर्बबढीको मागदावी 

पशुपति सहकारी विरुद्ध एक अर्बबढीको मागदावी 

काठमाडौं : पशुपति बचत तथा ऋण सहकारी संस्थाविरुद्ध हालसम्म एक अर्ब बढीको मागदावी परेको छ । हालसम्म उक्त सहकारी विरुद्ध ९८४ बचतकर्ताले एक अर्ब ३ करोड ८५ लाख ६४ हजार ८९ रुपैयाँ बराबरको मागदावी परेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय स्रोतले जानकारी दिएको हो ।

२०७७ सालदेखि बचतकर्ताको बचत फिर्ता गर्न नसकेर समस्यामा रहेको उक्त सहकारीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत असार १ गते समस्याग्रस्त घोषणा गरेको हो ।

संघीय सहकारी विभागको नियमन क्षेत्रभित्र रहेको पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले सदस्यहरुको बचत फिर्ता गर्न नगरेको सम्बन्धमा कारबाही हुँदा मन्त्रालयले उक्त सहकारी संस्थामा सहकारी ऐन, २०७४ अनुसार समस्याग्रस्त घोषणा गरेकाे थियो ।

ऐनको दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेकोले सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

समस्याग्रस्त घोषणा गरेसँगै मन्त्रालयले उक्त संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयलाई जिम्मेवारी पठाइएको थियो । 

कार्यालय गत असोज ११ गते समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफुले पाउनु पर्ने रकमको सप्रमाण सहित ३५ दिनभित्र अनलाईन मागदावी पेश गर्न सूचना जारी गरेको थियो । 

कार्यालयले जारी गरेको सूचना अनुसार हालसम्म उक्त रकम बराबरको मागदावी परेको स्रोतले जनाएको छ । उक्त सहकारी विरुद्ध विभागमा बचतकर्ताले ५३ करोड निक्षेप फिर्ता पाउनुपर्ने माग दाबीसहित उजुरी दिएका थिए । तर, विभागका अनुसार सहकारीमा एक अर्ब ७२ करोड निक्षेप दायित्व रहेको छ । 
 
 

Advertisment

थप समाचार