काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको लगानीको दायरा थप विस्तार गरेको छ । प्राधिकरणले बीमा कम्पनीहरुको लगानी निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
नेपाल बीमा प्राधिकरणले जीवन, निर्जीवन र पुनर्बीमकको लगानी, निर्देशिकामा दोस्रो संशोधन (२०८०) जारी गर्दै बीमा कम्पनीहरुलाई प्राइभेट इक्वीटी एण्ड भेञ्चर क्यापिटल (पीईभीसी) मा लगानी गर्न पाउने बाटो खुला गरिदिएको हो ।
प्राधिकरणले लगानी निर्देशिका संशोधन गरेसँगै अब बीमा कम्पनीहरुले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति प्राप्त पीईभीसीमा लगानी गर्न पाउनेछन् ।
संशोधित निर्देशिकाअनुसार बीमा कम्पनीहरुले कुल लगानीको १.५ प्रतिशतसम्म पीइभीसीमा लगानी गर्न सिमा तोकिदिएको छ । तर, एउटै फन्डमा भने बढीमा १ प्रतिशतसम्म मात्रै लगानी गर्न सक्ने निर्देशिकामा उल्लेख छ । यसका लागि कम्पनीले लगानी गर्नु पूर्व प्राधिकरणको स्वीकृति लिनु पर्नेछ।
तर लघु बीमा कम्पनीले प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डमा लगानी भने गर्न नपाउने निर्देशिकामा उल्लेख छ ।
यकसा साथै प्राधिकरणले शेयर बजारमा बीमा कम्पनीहरुले लगानी गर्न पाउने सिमा पनि बढाएको छ । जीवन र निर्जीवन बीमा कम्पनीले अन्य कम्पनीको शेयरमा यसअघि ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था रहेकोमा त्यसलाई बढाएर १५ प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरेको हो ।
बीमकले हाल सहायक कम्पनी, घरजग्गा व्यवसाय, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जालगायत नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा, स्वास्थ्य क्षेत्र र सेवामूलकलगायतका क्षेत्रमा लगानी गर्दै आएका छन् ।
विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति प्राप्त प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डमा लगानी गर्नु पूर्व, निर्देशनमा उल्लेख भए भन्दा अन्य क्षेत्रमा लगानी गर्नु पूर्व तथा निर्देशनमा तोकिएको सीमाभन्दा बढी लगानी गर्नु पूर्व प्राधिकरणको अनिवार्य स्वीकृति लिनु पर्नेछ भन्ने व्यवस्था थप गरिएको छ ।
Advertisment