Below Menu
Below Menu

जलविद्युतको हब बन्दै कर्णाली, बहुआयामिक महत्वका दर्जनौं आयोजना निर्माणाधिन  

जलविद्युतको हब बन्दै कर्णाली, बहुआयामिक महत्वका दर्जनौं आयोजना निर्माणाधिन  

काठमाडौं : भौगोलिक रुपमा विकट भएपनि कर्णाली विकासको सयौँ गुणा बढी सम्भावना बोकेको प्रदेश हो । कर्णालीको विकासका तीन खम्बा पर्यटन, जलविद्युत र जडिबुटीमध्ये जलस्रोतका हिसाबले पनि उत्तिकै समृद्ध छ ।

विद्युत् उत्पादन सम्भावनाका हिसाबले ७ प्रदेशमध्ये कर्णाली दोस्रो स्थानमा पर्छ ।कर्णाली र भेरी नदीबाट मात्र विद्युत् उत्पादन गर्ने हो भने कर्णालीलाई उज्यालो बनाउनेमात्र होइन, प्रशस्त आम्दानी पनि गर्न सकिन्छ ।

विद्युत विकास विभागको तथ्यांकअनुसार करिब १८ हजार (१७,७९९) मेगावाटभन्दा बढी विद्युत उत्पादन क्षमता कर्णाली प्रदेशसँग मात्रै छ ।  ढिलै भए पनि कर्णालीमा जलविद्युत् आयोजनाका काम अघि बढ्न थालेका छन् । बहुआयामिक महत्वका आयोजना निर्माणाधिन अवस्थामा रहेका छन् ।

राष्ट्र बैंकले प्रकाशित गरेको प्रादेशिक अध्यययन प्रतिवेदन अनुसार यस प्रदेशमा हालसम्म कुनैपनि ठूला जलविद्युत आयोजनाहरु सञ्चालनमा नरहेतापनि केही ठूला र महत्वपूर्ण जलविद्युत आयोजना भने निर्माणाधीन अवस्थामा छन् । 

आर्थिक वर्ष २०७९/८० सम्म ११ वटा जलविद्युत आयोजनाबाट कुल १८.५४ मेगावाट विद्युत उत्पादन भएको छ । अन्य थुप्रै जलविद्युत आयोजनाहरु निर्माणाधीन अवस्थामा छन्।

दैलेखहाल २.१५ मेगावाट क्षमताको माथिल्लो पराजुली खोला, ४.२ मेगावाट क्षमताको लोहोरे खोला आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । त्यस्तै कालिकोटमा १६ मेगावाट क्षमताको रुरुबन्चु खोला (पहिलो), १२ मेगावाट क्षमताको रुरुबन्चु खोला (दोश्रो), ४४० मेगावाट क्षमतको तिला (पहिलो), ४२० मेगावाट क्षमतको तिला (दोश्रो) जलविद्युत आयोजनाको निर्माण कार्य भईरहेको छ ।

त्यसैगरी, खत्याड खोला जलविद्युत आयोजना (०.५० मेवा) मुगु, सिमरुतु खोला जलविद्युत आयोजना (०.२० मे.वा.) रुकुम पश्चिम, सानी भेरी जलविद्युत आयोजना (०.३० मे.वा.) रुकुम पश्चिम, आँखे खोला जलविद्युत आयोजना (०.७५ मे.वा.) डोल्पा, चुकेनी खोला जलविद्युत आयोजना (०.९९ मे.वा.) जुम्ला, जल्दी गाड जलविद्युत आयोजना (२१ मे.वा.) रुकुम पश्चिम, स्यार्पु जलविद्युत आयोजना (३.३ मे.वा.) रुकुम पश्चिम, सौर्य ऊर्जा आयोजना (०.९९ मे.वा.) जुम्ला, सौर्य ऊर्जा आयोजना (०.३० मे.वा.) मुगु, सौर्य ऊर्जा आयोजना (०.६२ मे.वा.) डोल्पा, र सौर्य ऊर्जा आयोजना (१ मे.वा.) हुम्लामा गरी जम्मा १७ ओटा आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेका छन् ।

आव २०७९/८० सम्ममा यस प्रदेशमा आयोजना निर्माण अनुमतीको लागि ९ ओटा आयोजनाहरुको निवेदन परेका छन् भने आयोजना अध्ययनको लागि ६ ओटा आयोजनाहरुको निवेदन परेका छन् ।

नलस्यागाड (नलगाड) जलाशययुक्त जलविद्युत आयोजना

नलस्यागाड (नलगाड) जलाशययुक्त जलविद्युत (४१७ मे.वा) आयोजना नेपालको कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्ला स्थित नलगाड नदीमा अवस्थित छ । 

यस आयोजनाको निर्माण तथा सञ्चालक नलगाड हाइड्रोपावर कम्पनी लिमिटेड हो जुन विद्युत उत्पादन कम्पनी लिमिटेडको सहायक कम्पनीको रुपमा सन्२०१७ मा स्थापित भएको थियो ।

हाल यस आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (भ्क्ष्ब्) प्रतिवेदन पेश गरिने चरणमा छ । प्रस्तावित आयोजनाले नलगाड नगरपालिकाको वडा नम्बर २, ५, ७, ८, र बारेकोट गाउँपालिकाको वडा नम्बर १, २, ५, ६, ७, ८ र ९ लाई प्रभाव पार्नेछ ।
यस आयोजना निर्माण सम्पन्न हुन ७ बर्ष ५ महिना लाग्ने अनुमान गरिएको छ भने आयोजनाको अधिकृत पूँजी रु १ अर्ब र जारी पूँजी रु ५० करोड रहेको छ । 

यस आयोजनाले निर्माण चरणको अवस्थामा स्थानीय स्तरमा रोजगारीका अवसरहरुको सिर्जना, स्थानीय बासिन्दाहरुको दक्षता तथा क्षमतामा वृद्धि, स्थानीय स्तरमा उत्पादन हुने सामानहरुको लागि बजार/व्यवसायहरुको अवसर सिर्जना तथा राजस्वमा वृद्धि हुने अनुमान गरेको छ भनेसंचालन चरणमा उर्जाको उत्पादन, ग्रामीण विद्युतिकरणका अवसरहरु, ग्रामीण अर्थतन्त्रमा सुधार, स्थानीय पर्यटन विकासका अवसरहरु तथा शेयर लगानीमा अवसर हुनेछ ।

कर्णाली प्रदेशका महत्वपूर्ण जलविद्यूत आयोजनाहरु

माथिल्लो कर्णाली जलविद्युत आयोजना

माथिल्लो कर्णाली जलविद्युत आयोजना कर्णाली नदीमा प्रस्तावित रन अफ द रिभर जलविद्युत आयोजना हो । यो आयोजना दैलेखको आठबीस नगरपालिका वडा नं. १ सात्तलाको डाब र अछाम जिल्लाको केहि भाग समेत पर्दछ ।

यो आयोजनाको विद्युत उत्पादन क्षमता ९०० मेगावाट रहेको छ । यो आयोजना निर्माण गर्ने जिम्मा नेपाल सरकारले भारतिय कम्पनी जिएमआर लाई दिएको छ ।

यस आयोजनाबाट उत्पादन हुने अधिकांश बिजुली बंगलादेश (५०० मेगावाट) र भारत (२९२ मेगावाट) दुवैतर्फ ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत निर्यात गर्ने तय गरिएको छ बाँकी रहेको कुल विद्युतको १०८ मेगावाट नेपाल सरकारले प्राप्त गर्ने छ ।

१९९० मा पहिलो पटक सानो स्केल २४० मेगावाट सुविधाको रूपमा योजना गरिएकोमा हालको ९०० मेगावाट डिजाइन २००८ मा स्वीकृत भएको थियो । लामो समय देखि यो आयोजनाको कार्य गर्ने भनिएपनि उत्पादनको जिम्मा पाएको कम्पनीले कार्य गर्न नसकी पटकपटक म्याद थपिदै आएको छ ।

नेपालको ठुलो आयोजना मध्येको यस आयोजना समयमै सम्पन्न भएका देशमा आवश्यक विद्युतको परिपूर्ति हुनुको साथै ठुलो मात्रामा विद्युत निर्यातको सम्भावना रहेको छ । भारत र बंगलादेशमा विद्युत आपूर्ति हुने निर्यातमुखी आयोजना भएकोले समयममै विद्युत उत्पादन गर्न सके यसले नेपालको विकासको लागि बहुआयामिक महत्व राख्दछ ।

बेतन कर्णाली जलविद्युत आयोजना

४३९ मेगावाट विद्युत क्षमताको बेतन कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजना हो । जुन कर्णाली प्रदेश सर्खेत जिल्लाको चौकुनेगाउँपालिका वडा न.४, ५, ६ र पञ्चपुरी नगरपालिका वडा न. ७ साथै सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको ढकारी गाउँपालिको वडा नं. ६, ७ र तुर्माखाद गाउँपालिकाका वडा न. ३, ४ र ५ को क्षेत्र भित्र अवस्थित छ ।

जलविद्युतको उत्पादन वृद्धि गरी उर्जाको निरन्तर बढ्दो माग पुरा गर्न र विदेशबाट आयात गरिने विद्युतलाई प्रतिस्थापन गर्न यस्ता आयोजनाको प्रमुख भुमिका हुने देखिन्छ । साथै रोजगारी सिर्जना हुन गई स्थानीय जनताहरु लाभान्वित हुने देखिन्छ ।

यो आयोजना निर्माण भई सञ्चालनमा आएमा विद्युतको आन्तरिक माग परिपूर्ति गर्नुको साथै बाँकी बिजुली छिमेकी देशहरुमा बिक्रि गरी आर्थिक लाभ लिन सकिने हुँदा यस आयोजनाको सञ्चालनबाट समष्टिगत रुपमा समग्र देशको आर्थिक उन्नतिमा टेवा पुग्ने देखिन्छ ।

फुकोट कर्णाली जलविद्युत आयोजना

प्रधानमन्त्रीको भारत भ्रमणमा फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना भारतीय सरकारी कम्पनीले लगानी गर्ने सम्झौता भएको छ ।

यस आयोजनाको विद्युत उत्पादन क्षमता ४८० मेगावाट रहेको छ । नेपालको तर्फबाट विद्युत उत्पादन कम्पनी लिमिटेड र भारतको सरकारी कम्पनी एनएचपीसीको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) बनाएर यस आयोजनाको विकास गर्ने गरी सम्झौता भएको छ ।

एमओयूको मस्यौदाअनुसार एनएचपीसीको ५१ र भीयूसीएलको ४९ प्रतिशत लगानीमा फुकोट कर्णाली आयोजना बनाउने तयारी छ । यो आयोजना कालिकोटको पचाल झरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिका हुँदै बग्ने कर्णाली नदीको खण्डमा निर्माण हुनेछ ।

जलविद्युतको राष्ट्रिय उत्पादन वृद्धि गरी उर्जाको निरन्तर बढ्दो माग पुरा गर्न र विदेशबाट आयात गरिने विद्युतलाई प्रतिस्थापन गर्न यस्ता आयोजनाको प्रमुख भुमिका हुने देखिन्छ ।

साथै रोजगारी सिर्जना हुन गई स्थानीय जनताहरु लाभान्वित हुने छन्। यो आयोजना निर्माण भई सञ्चालन भएमा विद्युतको आन्तरिक माग परिपूर्ति गर्नुको साथै बाँकी बिजुली छिमेकी देशहरुमा बिक्रि गरी आर्थिक लाभ लिन सकिने हुँदा यस आयोजनाको सञ्चालनबाट समष्टिगत रुपमा समग्र देशको आर्थिक उन्नतिमा टेवा पुग्ने देखिन्छ ।

विद्युतको अवस्था 

कर्णाली प्रदेश क्षेत्रफलको हिसाबले अन्य प्रदेशभन्दा ठूलो तथा भौगोलिक रुपमा विकट भएकोले यहाँका हरेक घर तथा वस्तीमा बिजुलीको सुविधा पुर्याउनु आफैमा चुनौतीपूर्ण रहेको छ ।

नेपाल विद्युत प्राधिकरणको जेनेरेशन म्यागाजिन १५ औ अंक आ. व. २०७९÷८० अनुसार गत वर्ष ३३ के.भि.को विद्युत प्रसारण लाईन ३८६ कि.मि.रहेकोमा समीक्षा वर्षमा ४६८ कि.मि. पुगेको छ भने ११ के.भि.को विद्युत प्रसारण लाईन गत वर्ष २,३८७ कि.मि.रहेकोमा समीक्षा वर्षमा वृद्धि भई ३,०७४ कि.मि. पुगेको छ ।

त्यसैगरी एल.भि.को विद्युत प्रसारण लाईन गत वर्ष ५,१४० कि.मि.थियो भने समीक्षा वर्षमा वृद्धि भई ७,२३८ कि.मि पुगेको छ । समग्रमा समीक्षा वर्षमा विद्युत प्रसारण लाईन १०,७८० कि.मि.पुगेको छ भने गत वर्ष यस्तो प्रसारण लाईन ७,९१३ कि.मि.रहेको थियो ।

गत वर्ष यस प्रदेशको कुल सबस्टेशन क्षमता ४९.५ एम.भि.ए रहेकोमा समीक्षा वर्षमा वृद्धि भई ५४.५ एम.भि.ए पुगेको छ । आ.व. २०७९/८० सम्ममा यस प्रदेशमा १८.५४ मे.वा. बिद्युत उत्पादन भएको छ

Advertisment

थप समाचार