Below Menu
Below Menu

हिमालय एयरलाइन्स बन्यो आयोसा प्रमाणीकरण हुने पहिलो नेपाली वायुसेवा कम्पनी

हिमालय एयरलाइन्स बन्यो आयोसा प्रमाणीकरण हुने पहिलो नेपाली वायुसेवा कम्पनी

काठमाडौं : हिमालय एयरलाइन्सले ‘आयोसा’ प्रमाणपत्र प्राप्त गरेको छ । उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरणमा गरेको पहलकदमीस्वरुप एयरलाइन्स आयोसामा दर्ता हुने पहिलो नेपाली वायुसेवा कम्पनी बनेको छ ।

गत डिसेम्बर २८ मा अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटिए)ले सन् २०२५ मार्च ३ सम्म मान्य हुने गरी आयोसा प्रमाणीकरण गरेको हो । योसँगै हिमालय एयरलाइन्स विश्वका विमान कम्पनीसरह सुरक्षा मापदण्ड कायम गर्ने विमान कम्पनीका  रुपमा दर्ज भएको छ । 

हिमालय एयरलाइन्स नेपाल–चीन संयुक्त लगानीमा रहेको निजी क्षेत्रको हवाई कम्पनी हो । यो उपलब्धीलाई हिमालय एयरलाइन्सले उड्डयन क्षेत्रको कोसोढुङ्गाको रुपमा लिएको जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले आयोसामा दर्ता भएको उपलब्धी विमान कम्पनीको मात्रै नभइ मुलुक र उड्डयन क्षेत्रको उपलब्धी भएको बताए ।

“यो उपलब्धीले नेपालको उड्डयन उद्योगमा सकारात्मक परिवर्तनको सङ्केत गर्छ”, उनले भने, “हवाई सुरक्षामा नयाँ आयाम  स्थापित गर्दै यस क्षेत्रको उदाहरणका रूपमा नेतृत्व गर्न पाउँदा हामीलाई गर्व लागेको छ ।” यस प्रमाणीकरणले उच्च सुरक्षा मापदण्ड कायम राख्नका लागि कम्पनीको निरन्तर प्रयासलाई मात्र प्रमाणित गर्ने नभई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनिय वायुसेवा कम्पनीका रूपमा समेत स्थान दिने उपाध्यक्ष श्रेष्ठले बताए । उनले आगामी वर्षहरूमा पनि यस उपलब्धिलाई कायम राख्न कम्पनी प्रतिबद्ध रहेको बताए। 

नेपाल नागरिक उड्डयन प्राधिकरणको उड्डयन सुरक्षा तथा सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक नविना कर्माचार्यले हिमालय एयरलाइन्सको उपलब्धी मुलुकका लागि गौरवको विषय भएको बताए। उनले भने, “प्राधिकरणका तर्फबाट म हिमालय एअरलाइन्सलाई हवाई सुरक्षाप्रतिको असाधारण समर्पणका लागि तथा प्रतिष्ठित प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा प्रशंसा व्यक्त गर्दछु । हिमालय एअरलाइन्स्को यो उपलब्धिले निश्चित रूपमा यात्रुहरूको विश्वासलाई सुदृढ गर्न तथा देशमा हवाई यात्राको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँछ ।”

सन् २०१४ मा स्थापना भएको हिमालय एयरलाइन्सले हाल चार थान विमान तीन एयरबस ३२०–२१४ र एक एयरबस ३१९–१४४ मार्फत मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनका पाँच सहरहरु बेइजिङ, छिङदाओ, सांघाई, चोङकिङ र ल्हासामा उडान गर्दै आएको छ ।

Advertisment

थप समाचार