काठमाडौं : अपर अरुण जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम अन्तिम चरणमा पुगेको छ । उक्त आयोजनाको (ईआईए)को काम सकिएर स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पुगेको हो ।
मन्त्रालयले उक्त ईआईए प्रतिवेदनमाथि रायसुझाव माग गर्दै बुधबार सात दिने सूचना प्रकाशित गरेको छ । यससँगै हालसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढ्ने भएको छ ।
संखुवासभाको भोटेखोलामा निर्माण हुन लागेको १०६३.३६ मेगावाटको उक्त जलविद्युत् आयोजना ‘पिकिङ रन अफ रिभर (पीआरओआर) मोडलमा निर्माण गर्न लागिएको हो । आयोजना सम्पूर्ण संरचनाहरू उक्त गाउँपालिकाको वडा नं २ र ४ मा हुनेछ । सो आयोजनाले नेपालको विद्युतको माग पुरा गर्न ४ हजार ५४९. ५७ गिगावाट घण्टा स्वच्छ नवीकरण उर्जा उत्पादन गर्नेछ ।
अरूण नदीबाट विद्युतगृहसम्म सुरुङमार्फत पानी फर्काउँदा करिव १६।४५ किलोमिटरमा पानीको बहाव कम हुने समेत ईआईए प्रतिवेदनमा उल्लेख छ । यो आयोजनामा बाँध, सुरुङ, अडिट र विद्युत् क्षेत्रमा विभिन्न सहायक संरचना बन्ने भएका छन् ।
सुख्खा याममा पनि १२५०.८५ गिगावाट घण्टा उर्जा उत्पादन हुने भएकाले ‘पिकिङ रन अफ रिभर (पीआरओआर) मोडलमा निर्माण गर्न लागिएको हो । संखुवासभामा चीनको सीमाबाट १० किलोमिटर तल अरुण नदीमा १०० मिटर अग्लो उच्च बाँध बाँधेर यो आयोजना निर्माण गर्न लागिएको हो ।
आयोजनाको निर्माण चरण ६ वर्षको हुनेछ भने निर्माणका लागि ४५ हजार कामदारको आवश्यकता पर्नेछ । अरुण नदीको करीब साढे १६ किलोमिटर भागलाई सुख्खा बनाएर यो आयोजनाले वार्षिक औसत ४५५० गिगावाट घण्टा विजुली उत्पादन गर्ने छ । यो आयोजना निर्माण गर्न करिब २ खर्ब बढी रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । आयोजनामा विश्व बैंकको नेतृत्वमा लगानीकर्ताहरुले लगानी गर्दैछन् ।
उक्त आयोजनाको प्रवद्र्धन नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेडले गरिरहेको छ । कम्पनीमा ६८ प्रतिशत लगानी प्राधिकरणको र बाँकी ३२ प्रतिशत सर्वसाधारणको लगानी रहने भनिएको छ ।
आयोजना निर्माणका लागि आवश्यक पुँजी संरचनामा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइनेछ भने प्राधिकरणले करिब ६८ प्रतिशत लगानी गर्ने भनेको छ ।
उक्त आयोजना निर्माणका लागि ३ लाख ४१ हजार टन सिमेण्ट तथा कंक्रिट, ५५ हजार टन फलाम (पेनस्टक बाहेक), २५५८ टन विष्फोटक पदार्थ र ६ करोड ७९ लाख लिटर डिजेल आवश्यक पर्ने जनाइएको छ ।
Advertisment