Below Menu
Below Menu

इप्पान अध्यक्ष कार्की भन्छन्- ‘उर्जा उद्यमीहरुलाई सिंहदरबार छिर्न समस्या भयाे’

इप्पान अध्यक्ष कार्की भन्छन्- ‘उर्जा उद्यमीहरुलाई सिंहदरबार छिर्न समस्या भयाे’

काठमाडौं :  स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) अध्यक्ष गणेश कार्कीले उर्जा दशक घोषणा गर्न सरकारसँग माग गरेका छन् । इप्पानको २४औँ बार्षिकोत्सवमा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । 

‘अहिले देश उर्जा मय भएको छ’ उनले भने ‘सरकारलाई अबको दशक उर्जा दशक घोषणा गर्न माग गर्छु, साथै सरकारले अबको दशकलाई उर्जा संकटकाल लगाउन समेत माग गर्दछु ।’ 

कार्यक्रममा इप्पानका अध्यक्ष कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणपछि उर्जा उद्यमी उत्साहित भएको बताउँदै १० बर्षमा १० हजार मेगावाट विद्युत बेच्ने सरकारको समझौता निकै स्वागतयोग्य रहेको पनि बताए ।

अहिले सरकारले उर्जा क्षेत्रमा भ्याट बढाएको जानकारी गराउँदै अध्यक्ष कार्कीले पहिलाकै दरमा कायम गर्न सरकारसँग माग गरिरहेको स्मरण गराए । ‘उर्जा क्षेत्रको भ्याट घटाउने सवालमा अर्थ मन्त्रालयले यो समस्या समाधान गर्न उर्जा मन्त्रालयले क्याबिनेटमा प्रस्ताव लैजान सुझाव दिएको छ’ उनले भने ‘ऊर्जा मन्त्रालयबाटै यो समस्या समाधान हुनेमा हामीहरु विश्वस्त छौं ।’ 

अध्यक्ष कार्कीले बाढि पहिरोका कारण ३१ आयोजनामा क्षति भएको भन्दै ती आयोजनाको समस्या समाधान गर्न पनि आग्रह गरे । उनले १० हजार मेगावाट बिद्युत उत्पादन गर्न ४६ खर्ब रुपैयाँ लगानी लाग्ने स्मरण गराउँदै यसमा राष्ट्र बैकलाई समेत ध्यान दिन आग्रह गरे । 

अध्यक्ष कार्कीले विदेशमा रहेका नेपालीले नेपाल फर्केपछि घर जग्गामा लगानी गर्ने गरेको भन्दै अब त्यो लगानि जलविद्युत आयोजनामा लगाउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे । 

कार्कीले ट्रान्समिसन लाईन नहुने हो भने बिद्युत धेरै खेर जाने र त्यो अवस्था उर्जा उद्यमीले सहन नसक्ने बताए । गत आवमा २/३ सय मेगावाट विद्युत खेर गएको स्मरण गराउँदै त्यसको असरले बैंकले उर्जा उद्यमीलाई कालो सूचीमा राख्नेसम्मको अवस्था आउनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

आयोजनामा समय समयमा तोडफोड हुने, चन्दा आतंक बढेको, फोन नउठाउने हो भने घरमै आएर आतंकित बनाउने गरेको भन्दै सुरक्षामा ध्यान दिन गृह मन्त्रीलाई आग्रह गरे । 

अहिले ३६ सय मेगावाट क्षमताका पिपिए भएका आयोजनामा बैंकले लगानी नगरेकोले यसको समाधानका लागि सबै पक्षको ध्यानाकर्षण गराए ।

कार्कीले अर्बौकाका आयोजना बनाउने, विद्युत निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने, देशलाई समृद्धिको बाटोमा डो¥याउने उर्जा उद्यमीहरुलाई सिंहदरबार छिर्न समस्या भइरहेको भन्दै इप्पानको कार्ड देखाएपछि सिंहदरबार प्रवेश पाउने व्यवस्था मिलाउन गृहमन्त्रीलाई आग्रह गरे ।

बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहका बीच इप्पानको २४ औँ बार्षिकोत्सव  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समुदघाट्न गरेका हुन् 

ऊर्जा क्षेत्रका विशिष्ट व्यक्तिहरु सम्मानित

कार्यक्रममा ऊर्जा क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई इप्पान विशेष सम्मानले सम्मान गरिएको छ । ‘इप्पान डे’को अवसरमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ, उर्जा मन्त्री बस्नेत र इप्पानका अध्यक्ष कार्कीले विभिन्न व्यक्ति तथा संस्थालाई संयुक्त रुपमा सम्मान गरेका हुन् ।

इप्पान विशेष सम्मानबाट सम्मानित हुनेमा उर्जा मन्त्रालयका सहसचिवद्वय नविनराज सिंह र सन्दीप कुमार देव, विद्युत विकास विभागका महानिर्देशक चिरन्जीवी चटौत र नेपाल विद्युत प्राधिकरणका पूर्व उप कार्यकारी निर्देशक प्रवल अधिकारी रहेका छन् ।

त्यस्तै वरिष्ठ ऊर्जा पत्रकारिता सम्मानबाट जलसरोकार डटकमका प्रधान सम्पादक विकास थापालाई सम्मान गरिएको छ । 
त्यस्तै १ मेगावाट भन्दा ठूलो निजी क्षेत्रको पहिलो आयोजनाका रुपमा २०५८ साल माघ १० गते सम्पन्न भएको नेशनल हाईड्रोपावर कम्पनीलाई सम्मान गरिएको छ । कम्पनीले ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । नेशनल हाईड्रोपावरका संस्थापक अध्यक्ष जीत बहादुर श्रेष्ठ र वर्तमान अध्यक्ष कुमार पाण्डेलाई सम्मान गरिएको हो ।

कार्यक्रमममा १ मेगावाट भन्दा सानो पहिलो जलविद्युत आयोजनाका रुपमा १८३ किलोवाटको स्याङ्गे साना जलविद्युत आयोजनालाई सम्मान गरिएको छ ।  

निजी क्षेत्रले निर्माण गरेको जलविद्युत आयोजनामा पहिलो पटक लगानी गरेको नबिल बैंक (तत्कालिन नेपाल बंगलादेश बैंक), आयोजना निर्माणमा संग्लग्न पहिलो निर्माण कम्पनीको रुपमा एभरेष्ट निर्माण सेवा कम्पनी, आयोजनाको बीमा गर्ने पहिलो बीमा कम्पनीको रुपमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (साबिकको एनबी इन्स्योरेन्स) लाई पनि सम्मानत गरिएको छ ।
 

Advertisment

थप समाचार