काठमाडौं : नेपाल पूर्वाधार बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार पुस मसान्तसम्म बैंकले ६८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ९.९४ प्रतिशतले कम हो । गत आवको सोही अवधिसम्ममा बैंकले ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समिक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो । पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी भने सामान्य बढेको छ ।
पुस मसान्तसम्म आइपुग्दा बैंकको इम्पेरमेन्ट चार्ज ४ करोड २५ लाख रुपैयाँबाट बढेर १९ करोड ६७ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २.८३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ५१.२९ प्रतिशत घटेको छ ।
त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २.३६ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ९.९६ प्रतिशत घटेको छ । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३५ करोड ४९ लाख रुपैयाँ रहको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७१ पैसा घटेर ६ रुपैयाँ ३९ पैसामा झरेको छ ।
Advertisment