Below Menu
Below Menu

व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार गरेर कर छली गर्ने प्रवृत्ति बढ्दो

व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार गरेर कर छली गर्ने प्रवृत्ति बढ्दो

काठमाडौं : व्यक्तिगत बैंक खाताबाट व्यावसायिक प्रकृतिका कारोबार गरेर कर छली गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ ।

आज सार्वजनिक भएको नेपाल राष्ट्र बैंकअन्तर्गत रहेको वित्तीय जानकारी एकाइ (फाइनान्सियल इन्टेलिजेन्स युनिट–एफआइयु नेपाल) को प्रतिवेदनअनुसार विभिन्न प्रकृतिका व्यावसायिक कारोबारमा संस्थागत वा व्यावसायिक खाताबाट नभई व्यक्तिगत खाताबाट रकम लेनदेन गरेर कर छली हुने गरेको देखिएको हो । 

एफआइयु नेपालको वार्षिक प्रतिवेदन २०२२/२३ अनुसार सन् २०२० जनवरीदेखि सन् २०२२ डिसेम्बरसम्म विश्लेषण गरिएका शङ्कास्पद कारोबारमध्ये ३७ प्रतिशत कारोबारमा व्यावसायिक प्रकृतिका कामका लागि व्यक्तिगत बैंक खाता प्रयोग भइरहेको देखिएको छ ।

यसरी व्यावसायिक प्रकृतिको कारोबारमा व्यक्तिगत बैंक खाता प्रयोग भएर गरिने शङ्कास्पद लेनदेनको सङ्ख्या मासिक औसत ६५ वटा रहेको पनि प्रतिवेदनमा उल्लेख छ । 

'यो प्रकृतिको शङ्कास्पद कारोबार भनेर वित्तीय जानकारी एकाइमा आउनेमध्ये ४८ प्रतिशत सामित्व व्यवसायसँग सम्बन्धित, ३३ प्रतिशत प्राइभेट लिमिटेडसँग सम्बन्धित र १९ प्रतिशत व्यवसाय कस्ता प्रकृतिका कम्पनी हुन् भन्ने खुलेको छैन,' प्रतिवेदनमा भनिएको छ, 'क्षेत्रगत रूपमा व्यापार, उत्पादन, होटल तथा रेष्टुराँ, ट्राभल, मेडिकललगायतका क्षेत्रमा यस्तो कारोबार बढी भइरहेको छ ।'

एउटै व्यवसायको कारोबारका लागि धेरैवटा बैंक खाता प्रयोग हुने गरेको पनि देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसरी व्यावसायिक कारोबारमा व्यक्तिगत खाता प्रयोग हुनेमा कम्पनीका सञ्चालक, शेयरधनी, परिवारका सदस्य तथा कर्मचारी बढी हुने गरेको प्रतिवेदनमा औंल्याइएको छ ।

वित्तीय जानकारी एकाइले दुई सय चार मामलाको अध्ययन तथा विश्लेषण गरेकामा एक सय १३ मामलालाई थप अध्ययन तथा अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग तथा आन्तरिक राजस्व विभागमा पठाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार ती मामलामा शङ्कास्पद कारोबार भएको रकम रू १२ अर्ब बराबर रहेको छ ।

कर छलीका लागि व्यावसायिक कारोबारमा व्यक्तिगत बैंक खाता प्रयोग गरिनुलाई गम्भीर समस्याका रूपमा औंल्याउँदै प्रतिवेदनले यस्तो कार्य रोक्नका लागि सबै नियामक र सरोकारवाला निकायले भूमिका खेल्नुपर्ने सुझाव दिएको छ ।

Advertisment

थप समाचार