काठमाडौं : नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले न्युरोडमा पार्किङ निषेध गर्ने काटमाडौं महानगरपालिकाको निर्णयप्रति आपत्ति जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै महानगरले एकलौटी नियम लादने काम गरेको भन्दै विरोध जनाएको हो ।
काठमाडौं महानगरपालिकाले माघ ९ गते (मंगलबार) देखि लागुहुने गरी धर्मपथ, जुद्धशालिक देखि इन्द्रचोक तर्फको सडक खण्ड खिचापोखरी, प्युखा, महाबौद्ध पाको लगायतका नयाँ सडक ( न्यूरोड ) का क्षेत्रमा संचालित पार्किङ्ग हटाउन गरिएको निर्णय गरेको थियो ।
उक्त क्षेत्रमा रहेका विभिन्न वर्गका लाखौँ व्यवसायी स्थानीय तथा सेवाग्राहीहरू अन्यायमा परेका भन्दै संघको गम्भीर ध्यानाकर्षण गराएको छ ।
देशको आर्थिक क्रियाकलापको केन्द्र बिन्दुका रुपमा रहेको न्युरोड, इन्द्रचोक र त्यस वरिपरिका क्षेत्रहरुमा विकल्प र पूर्वाधार बिना र सरोकारवालाहरु संग छलफल र विचार विमर्स नगरी एकतर्फी स्थानीय निकायले स्थानीय जनता, सरोकारवालाहरुमा प्रत्यक्ष प्रभाव पर्ने संघको ठहर छ ।
‘स्थानीय निकायको शक्तिको आडमा जवरजस्ती पार्किङ्ग निषेध गर्न खोजेकोले अर्को वैकल्पिक व्यवस्था गरी सक्षम र सहज पूर्वाधार निर्माण नभए सम्मका लागी पार्किङ्ग व्यवस्थालाई यथावत संचालन गर्न संघ हार्दिक अनुरोध गर्दछु’, जारी विज्ञप्तिमा भनिएको छ ।
महानगरको गुरु योजना तथा गौरवको योजना अनुरुप ‘रोजगारी र आय वृद्धि काठमाडौँ समृद्धि’ भनि रहँदा हाल यो निर्णयले नेपालको प्रमुख व्यवसायिक केन्द्रमा नै व्यापारमा प्रत्यक्ष प्रभाव पर्नेगरी गरेको निर्णय सुधारको जरुरी रहेको संघले जनाएको छ ।
देशकै प्रमुख व्यवसायिक केन्द्र नयाँ सडक (न्युरोड) को व्यापार व्यवसाय धरासायी हुँदा स्वयं महानगरपालिकाको राजश्व संकलनमा पनि कमी हुनुका साथै नेपाल सरकारको अधिकतम राजश्व संकलन हुने यस क्षेत्रबाट राजश्व संकलनमा पनि कमि आउने छ ।
स्थानीय जनप्रतिनिधिहरु व्यवसायी संघ संस्था तथा स्थानीय सामाजिक संघ संस्थाको मनोभावना विपरित पार्किङ्गको उचित विकल्प प्रदान नगरी, यथेष्ठ समय पनि प्रदान नगरि जबर्जस्ति रुपमा काठमाडौं महानगरको एकलौटी नियम लादेको संघको आरोप छ ।
साथै यथाशिघ्र बन्द भएको पार्किङ्ग व्यवस्थित तथा वैज्ञानिक ढंगले संचालन गर्न संघले जोरदार माग गरेको छ ।
Advertisment