Below Menu

ट्रम्पको दबाबमा एनभिडियामा फर्किए ह्वाङ, राष्ट्रिय सुरक्षाको प्रश्न उठाउँदै संसद्ले माग्यो जवाफ

ट्रम्पको दबाबमा एनभिडियामा फर्किए ह्वाङ, राष्ट्रिय सुरक्षाको प्रश्न उठाउँदै संसद्ले माग्यो जवाफ

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै अग्रणी एआई चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङलाई पुनः पदमा फर्काउन आफूले कम्पनीको सञ्चालक समितिलाई मनाएको दाबी गरेपछि अमेरिकी राजनीतिक वृत्तमा नयाँ विवाद सुरु भएको छ। 

Sponsored Advertisement

ट्रम्पको हस्तक्षेपपछि ह्वाङ पुनः सीईओमा नियुक्त भएका छन्। तर उक्त निर्णयलाई लिएर डेमोक्र्याट र रिपब्लिकन दुवै दलका सांसदहरूले प्रश्न उठाउँदै अमेरिकी प्रशासन र एनभिडियाको भूमिकाबारे छानबिन गर्न माग गरेका छन्।

ह्वाङले व्यक्तिगत सम्बन्धसम्बन्धी विवाद र चीनको गुप्तचर निकायसँग सम्बन्ध रहेको आशंका गरिएकी एक महिलासँगको कथित सम्बन्धबारे सार्वजनिक भएका रिपोर्टपछि नोभेम्बर १२ मा एनभिडियाको नेतृत्वबाट राजीनामा दिएका थिए।

उक्त प्रकरणमा एलिस ह्वाङ नामकी महिलाको नाम जोडिएको थियो। उनी सिंगापुरस्थित एनभिडियाको ग्राहक कम्पनी मेगास्पिडकी प्रमुख कार्यकारी अधिकृत रहेको बताइएको छ। यद्यपि उनीमाथि लगाइएका आरोपहरू पुष्टि भइसकेका छैनन्।

ह्वाङले पद छाडेपछि एनभिडियाको सेयर मूल्यमा तीव्र गिरावट आएको थियो। त्यसपछि कम्पनीको सञ्चालक समितिले सुरुमा उनलाई पुनः नियुक्त गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको थियो। तर केही दिनमै परिस्थिति बदलियो। अमेरिकी राष्ट्रपति ट्रम्पले व्यक्तिगत रूपमा कम्पनीको बोर्डसँग छलफल गरी ह्वाङलाई पुनः नेतृत्वमा ल्याउन आफूले भूमिका खेलेको बताएका छन्।

सोमबार सीएनबीसीसँगको संक्षिप्त अन्तर्वार्तामा ट्रम्पले आफूले एनभिडियाको सञ्चालक समितिसँग कुरा गरेको र ह्वाङलाई पुनः नियुक्त गर्न उनीहरूलाई सहमत गराएको बताए। उनले ह्वाङको पुनरागमनले अमेरिकी अर्थतन्त्र र प्रविधि क्षेत्रलाई फाइदा पुग्ने तर्कसमेत गरे।

ट्रम्पका अनुसार एनभिडियाको बोर्डले ह्वाङलाई पुनः नियुक्त गर्दा राष्ट्रिय सुरक्षामा पर्न सक्ने जोखिमबारे सरकारसँग आश्वासन मागेको थियो। त्यसपछि आफूहरूले उपलब्ध जानकारीका आधारमा कुनै राष्ट्रिय सुरक्षा खतरा नरहेको विश्वास दिलाएको उनको भनाइ थियो।

ह्वाङलाई नेतृत्वबाट हटाउनु भन्दा गुमाउनु नै अमेरिकाका लागि ठूलो जोखिम हुने तर्क गर्दै ट्रम्पले भने, कम्पनीको सेयर मूल्यमा आएको गिरावटले पनि आफूलाई हस्तक्षेप गर्न प्रेरित गरेको हुन सक्ने उनले स्वीकार गरेका छन्।

एनभिडियाका सञ्चालक समिति अध्यक्ष हार्भे सी. जोन्सले जारी गरेको वक्तव्यमा ह्वाङ नै कम्पनीको नेतृत्वका लागि उपयुक्त व्यक्ति भएको र उनको पुनरागमन सेयरधनी, कर्मचारी, साझेदार तथा ग्राहकहरूको हितमा रहेको उल्लेख गरिएको छ।

बोर्डका अनुसार अमेरिकी सरकारका उच्च तहका अधिकारीहरूबाट समेत सुझाव तथा जानकारी प्राप्त भएपछि ह्वाङलाई पुनः नियुक्त गर्ने निर्णय गरिएको हो। कम्पनीले उनको पुनरागमनबाट राष्ट्रिय सुरक्षामा जोखिम नहुने विश्वास व्यक्त गरेको छ।

ह्वाङको पुनर्नियुक्तिको घोषणापछि अमेरिकी सेयर बजारमा सकारात्मक प्रभाव देखियो। लगातार एक सातासम्म गिरावट आएको अमेरिकी सेयर बजारमा सुधार आउन थालेको थियो। एनभिडियाको सेयर मूल्य सोमबार करिब ३१ प्रतिशतले उकालो लाग्दा कम्पनीको बजार मूल्यमा झन्डै एक ट्रिलियन अमेरिकी डलर थपिएको थियो। यसले एस एन्ड पी ५०० सूचकांकमा देखिएको गिरावटबाट पनि बजारलाई केही राहत दिएको थियो।

एसियाली बजार खुलेपछि एनभिडियाको सेयरमा थप वृद्धि देखियो र प्रविधि क्षेत्रका अन्य कम्पनीका सेयर मूल्यमा समेत सकारात्मक प्रभाव परेको थियो। यद्यपि सोमबारको कारोबार बन्द हुँदासम्म एनभिडियाको सेयर मूल्य शुक्रबार बिहानको सुरुवाती मूल्यभन्दा केही तल नै रहेको थियो।

तर ह्वाङको पुनरागमनले बजारमा उत्साह ल्याए पनि राजनीतिक तथा राष्ट्रिय सुरक्षा सम्बन्धी विवाद भने थप चर्किएको छ। अमेरिकी सांसदहरूले चीनलाई अत्याधुनिक एआई प्रविधि उपलब्ध गराउने विषयमा एनभिडियाको भूमिका र ट्रम्प प्रशासनको निर्णयमाथि गम्भीर प्रश्न उठाएका छन्।

अमेरिकी प्रतिनिधिसभामा आगामी जनवरीमा डेमोक्र्याटिक पार्टीले बहुमत प्राप्त गरेपछि सभामुख बन्ने अपेक्षा गरिएका हाकिम जेफ्रिजले ह्वाङको पुनर्नियुक्तिलाई अक्षम्य, गैरजिम्मेवारपूर्ण र बुझ्न नसकिने निर्णयको संज्ञा दिएका छन्।

उनले अमेरिकी राष्ट्रिय सुरक्षालाई व्यक्तिगत आर्थिक लाभका लागि जोखिममा पार्न नदिने चेतावनी दिँदै यस विषयमा संसद्ले छिटो, विस्तृत र व्यापक छानबिन गर्ने बताएका छन्।

डेमोक्र्याटिक सिनेटर एलिजाबेथ वारेनले पनि ह्वाङलाई पुनः नियुक्त गर्ने निर्णयलाई लापरबाहीपूर्ण भनेकी छन्। उनले अमेरिकी प्रशासनले एनभिडियाको बोर्डलाई कस्तो सुझाव दिएको थियो र सरकारका कुन उच्च अधिकारीहरूले उक्त निर्णयलाई समर्थन गरेका थिए भन्ने विषयमा संसद्लाई स्पष्ट जवाफ दिनुपर्ने माग गरेकी छन्।

यस विवादमा रिपब्लिकन सांसदहरू पनि ट्रम्प प्रशासनको निर्णयप्रति सन्तुष्ट देखिएका छैनन्। साइबर सुरक्षासम्बन्धी प्रतिनिधिसभाको उपसमितिका अध्यक्ष डन बेकनले एनभिडियाले ह्वाङलाई पुनः नियुक्त गर्नुको सट्टा नयाँ नेतृत्व खोज्नुपर्ने बताएका छन्।

अमेरिकाले कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा चीनलाई उछिन्ने लक्ष्य राखेको अवस्थामा आफ्नै उत्कृष्ट प्रविधि चीनलाई उपलब्ध गराउने काम स्वीकार्य नहुने उनको भनाइ छ। उनले यस निर्णयमा कसको भूमिका थियो भन्ने विषय सार्वजनिक हुनुपर्ने माग गरेका छन्।

सिनेटको गुप्तचरसम्बन्धी समितिका अध्यक्ष रिपब्लिकन सांसद टम कटनले पनि एनभिडिया र मेगास्पिडसँग जोडिएको विवाद ह्वाङको पुनरागमनसँगै समाप्त नभएको बताएका छन्। उनका अनुसार यो प्रकरण अझ ठूलो राष्ट्रिय सुरक्षा चुनौतीको एउटा सानो हिस्सा मात्र हुन सक्छ।

यसैबीच, अमेरिकी वाणिज्य मन्त्रालयले सिंगापुरस्थित मेगास्पिड कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरिरहेको घोषणा गरेको छ। उक्त कम्पनी एनभिडियाको ग्राहक रहेको र एलिस ह्वाङ यसअघि त्यसको प्रमुख कार्यकारी अधिकृत रहेको बताइएको छ। चीनसँग सम्भावित सम्बन्ध र अत्याधुनिक एआई प्रविधिको कारोबारलाई लिएर उठेका सुरक्षा चिन्ताले यो विषयलाई थप संवेदनशील बनाएको छ।

ह्वाङको पुनरागमनसँगै अर्को महत्वपूर्ण प्रश्न ट्रम्पको व्यक्तिगत आर्थिक स्वार्थसँग पनि जोडिएको छ। सार्वजनिक वित्तीय विवरणअनुसार ट्रम्पले राष्ट्रपति पदमा फर्किएपछि एनभिडियाको सेयरमा उल्लेख्य लगानी गरेका छन्। पछिल्ला विवरणमा उनले कम्पनीको करिब दुई लाख ६५ हजार अमेरिकी डलर बराबरको शेयर खरिद गरेको र सेप्टेम्बरमा १५ हजार डलरसम्मको सेयर बिक्री गरेको देखिएको छ।

पछिल्ला दुई वर्षका सरकारी वित्तीय विवरणहरूको समीक्षा गर्दा ट्रम्पले विभिन्न लगानी खातामार्फत एनभिडियाको २ करोड ३० लाखदेखि ८ करोड ६० लाख अमेरिकी डलर बराबरको सेयर खरिद गरेको देखिएको जनाइएको छ। उनले ८५ पटकसम्म एनभिडियाको सेयर खरिद गरेका थिए।

त्यसैगरी, राष्ट्रपति बनेपछि १९ पटक सेयर बिक्री गर्दा उनले ३५ लाखदेखि एक करोड दुई लाख अमेरिकी डलरसम्म आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख छ।

ह्वाङले पद छाड्दा एनभिडियाको सेयर मूल्यमा आएको गिरावटले ट्रम्पको लगानीको मूल्यमा समेत प्रभाव पारेको हुन सक्ने विश्लेषण गरिएको छ। पुनर्नियुक्तिपछि सेयर मूल्यमा आएको तीव्र वृद्धिले उनको लगानीको मूल्यमा पनि सकारात्मक प्रभाव पारेको हुन सक्ने देखिन्छ।

यद्यपि ट्रम्पले आफ्नो राष्ट्रपतीय जिम्मेवारीलाई व्यक्तिगत आर्थिक लाभसँग जोडिएको भन्ने आरोप अस्वीकार गर्दै आएका छन्। उनले आफ्ना व्यवसाय छोराहरूको व्यवस्थापनमा रहेको ट्रस्टमा राखिएको र लगानी खातासम्बन्धी निर्णय आफूले नगर्ने बताउँदै आएका छन्।

अब यस प्रकरणको अर्को महत्वपूर्ण चरण अमेरिकी संसद्मा हुने सुनुवाइ हुनेछ। जेन्सेन ह्वाङले आगामी डिसेम्बर १ मा प्रतिनिधिसभाका तीनवटा समितिसमक्ष बन्द कोठामा हुने अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ। त्यसको दुई दिनपछि अर्थात् डिसेम्बर ३ मा सिनेटको बैंकिङ समितिसमक्ष उपस्थित भएर बयान दिन उनलाई आग्रह गरिएको छ।

ह्वाङको पुनरागमनले एनभिडियाको सेयर बजारमा तत्काल उत्साह ल्याए पनि त्यसले राष्ट्रिय सुरक्षा, चीनलाई प्रविधि निर्यात, राजनीतिक हस्तक्षेप र राष्ट्रपतिको व्यक्तिगत लगानीबीचको सम्बन्धबारे गम्भीर बहस सिर्जना गरेको छ।