Below Menu
Below Menu

सबल बन्दै स्थिरीकरण कोष

सबल बन्दै स्थिरीकरण कोष

काठमाडौं : बचत तथा ऋण सहकारी अभियानको जगेडा कोष मानिने स्थिरीकरण कोष स्थापनाको डेढ बर्ष पुगेको छ । २०७९ साल जेठ २७ गतेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णयसँगै कोष सञ्चालनमा आएको थियो । कोषमा हालसम्म २८६ सहकारीले प्रारम्भिक र वार्षिक योगदान स्वरुप १७ करोड ७३ लाख ८२ हजार ७३ रुपैयाँ ८२ पैसा जम्मा गरेका छन् । 

नेफ्स्कूनमा ४ हजार ६ सय २२ सदस्य रहेपनि स्थिरीकरण कोषमा सहभागिता भने ६ प्रतिशतको हाराहारीमा मात्रै छ । नेफ्स्कूनसहित १० बचत तथा ऋण सहकारीले गरेको योगदान कुल रकमको करिब ४७ प्रतिशत हुन आउँछ । नेफ्स्कूनसहित १० साकोसको योगदान रकम ७ करोड ९२ लाख ३० हजार ४ सय ३७ रुपैयाँ छ । 

कोषको कुल सम्पत्ती १९ करोड ३६ लाख ५८ हजार ८ सय ६८ रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा मात्रै ६ करोड ३७ लाख ७० हजार ९ सय ३५ रुपैयाँ १६ पैसा थप भएको छ । कोषले २०८० असार मसान्तसम्ममा कोषको कुल सञ्चालन आम्दानी १ करोड २१ लाख ६४ हजार ४ सय ५९ रुपैयाँ रहेको छ । कोषको आम्दानीको स्रोत ब्याज हो । कोषले ब्याज आम्दानी मात्रै १ करोड २० लाख ७९ हजार ४ सय ५९ रुपैयाँ गरेको छ ।

कोषमा ३ हजार २ सय २४ रुपैयाँदेखि १ करोड ७ लाख ४९ हजार ६ सय ०३ रुपैयाँसम्म योगदान गर्ने प्रारम्भिक सहकारी छन् । कोषमा नेफ्स्कूनको योगदान २ करोड ९७ लाख ११ हजार ३ सय ८० रुपैयाँ छ । योगदान गर्ने मध्ये डाँफे साकोस र श्रीमाई बज्रबाराही साकोसलाई कोषले तरलता सापटी समेत प्रदान गरिसकेको छ । ती संस्थाबाट उक्त सापटी फिर्ता समेत आएको कोषले जनाएको छ ।

धेरै योगदान गर्ने १० सहकारी
कोषमा सबैभन्दा धेरै योगदान गर्नेमा नेफ्स्कून रहेको छ । नेफ्स्कूनले हालसम्म २ करोड ९७ लाख ११ हजार ३ सय ८० रुपैयाँ योगदान गरेको छ । यता प्रारम्भिक सहकारी संस्था मध्ये सबैभन्दा धेरै योगदान गर्ने रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था रहेको छ । जनउत्थान साकोसले २०८० असार मसान्तसम्ममा १ करोड ७ लाख ४९ हजार ६ सय ९३ रुपैयाँ योगदान गरिसकेको छ ।

त्यस्तै बिन्धवासिनी साकोस काभ्रेले ७६ लाख ४४ हजार ६ सय १८ रुपैयाँ, सामुदायिक साकोस काभ्रेले ७२ लाख १ हजार ७ सय ९८ रुपैयाँ, कल्याणकारी साकोस ललितपुरले ४३ लाख ४४ हजार ६५ रुपैयाँ, हाम्रो साकोस ललितपुरले ४२ लाख १० हजार ४ सय ५४ रुपैयाँ, चण्डेश्वरी साकोस काभ्रेले ३५ लाख ७३ हजार २ सय ७३ रुपैयाँ, जनसचेतन साकोस दोलखाले ३३ लाख ८२ हजार ३ सय ५३ रुपैयाँ योगदान गरेको छ ।

त्यस्तै कोलिय देवदह साकोस रुपन्देहीले ३२ लाख ११ हजार ४२ रुपैया, सिन्धु कन्टेनर साकोस सिन्धुपाल्चाेकले २६ लाख १८ हजार ९ सय १४ रुपैयाँ र स्वर्णलक्ष्मी साकोस झापाले २५ लाख ८२ हजार ८ सय ३६ रुपैयाँ योगदान गरेको छ ।

कोषमा किन आवद्ध हुने?
बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु सबैभन्दा बढी संवेदनशील मानिन्छन् । वित्तीय कारोबार आफैमा बढी तरल र जोखिमपूर्ण छ । वित्तीय दुर्घटनाका सम्भावनाहरु सधै सन्निकट रहन्छन् । यस्तो अवस्थामा कोषको भूमिका केवल वित्तीय समस्या समाधानमा मात्र नभई निरन्तर अनुगमन, प्रशिक्षण, सल्लाह र सहजिकरणको माध्यमबाट संकटको रोकथाममा समेत प्रभावकारी हुन्छ ।

यसरी हेर्दा ऐनले निर्दिष्ट गरेको स्थिरीकरण कोष बचत तथा ऋण सहकारी अभियानको निदानात्मक मात्र नभई प्रतिरोधात्मक अस्त्र पनि हो । अभियानको स्वामित्व र योगदानमा आधारित जगेडा कोष सहकारीको विश्वव्यापी मान्यता र सिद्धान्तसँग पनि निकट छ । कोषमार्फत संस्थाहरुको व्यवस्थापकीय समस्याको समयमा तरलता सापटी, पुनसञ्चालन खर्च सापटी तथा दायित्व भुक्तानी सापटी प्राप्त गर्न सकिने व्यवस्था छ । योगदान गरेको रकमको दश गुणासम्म तरलता सापटी पाइन्छ ।

कोषमा आवद्ध हुन कम्तिमा पाँच आर्थिक वर्ष कार्यसञ्चालन गरि वार्षिक लेखापरिक्षण सम्पन्न गराएको, तोकिएका समयभित्रै अघिल्ला दुईवर्षको वार्षिक साधारण सभाका बैठक सम्पन्न गरेको, कर्जा वर्गीकरण गरि आवश्यक कर्जा नोक्सानी व्यवस्था गरेको, अघिल्ला दुई वर्षमा घाटामा नगएको तथा सञ्चित घाटा नभएको, मन्त्रालयबाट स्वीकृत एकीकृत मापदण्ड अनुसार उच्च जोखिममा नरहेको, निवेदन दिदाका बखत नियामक निकायको निगरानी सूचीमा नगरेको वा शीघ्र सुधार कारवाहिमा सूचीकृत नभएको, विभागले स्वीकृत गरेको एकीकृत व्यवस्थापन सूचना प्रणालीमा आवद्ध भएको, संस्थागत पूँजी २.५ प्रतिशत भएमा पनि ३ वर्षभित्र ५ प्रतिशत पुर्याउने प्रतिवद्धता गरेको लगायतका प्रावधान समावेश छन् ।

Advertisment

थप समाचार