Below Menu
Below Menu

शेयर सदस्यले ब्युँताए पोखराको इमेज सहकारी, अध्यक्षमा चन्दिरा शाक्य चयन

शेयर सदस्यले ब्युँताए पोखराको इमेज सहकारी, अध्यक्षमा चन्दिरा शाक्य चयन

पोखरा : सञ्चालकहरु सम्पर्कविहीन भएर ९ महिनादेखि बन्द रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड कास्कीलाई शेयर सदस्यहरुले ब्यूताएका छन् । शेयर सदस्यहरुका तर्फबाट बुधवार पोखरामा आयोजित विशेष साधारणसभाले संस्था ब्यूताउने निर्णय गरेको हो । संस्थालाई विधिवत रुपमा सञ्चालन गर्ने भन्दै विशेष साधारणसभाले नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गरेको छ ।

सचालक समितिको अध्यक्षमा चन्दिरा शाक्य, उपाध्यक्षमा सुशिला श्रेष्ठ, सचिवमा टेक बहादुर कुमाल, कोषाध्यक्षमा देवीलाल दाहाल, सदस्यहरुमा सूर्य जलारी, पार्वती जिसी र सानीमाया आले रहेका छन् । लेखा सुपरीवेक्षण समितिको संयोजकमा याम बहादुर बराल तथा सदस्यहरुमा टसी पासाङ गुरुङ र चन्द्र मानन्धर रहेका छन् ।

इमेज सहकारीका संस्थापक अध्यक्ष देव कुमार नेपाली, उनको परिवारका सदस्य र सञ्चालक समितिका पदाधिकारीहरुको चल अचल सम्पत्तीबाट भएपनि शेयर सदस्य बचतकर्ताहरुले जम्मा गरेको बचत रकम फिर्ता गराउने निर्णय विशेष साधारणसभाले गरेको छ । बचत फिर्ताका लागि आवश्यक पहलकदमी लिनका लागि वैधानिक मोर्चाको आवश्यकता भएकाले सहकारी ब्यूताउने निर्णय गरेको पीडितहरुले बताएका छन् ।

सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिलाई पोखरा महानगरपालिकाबाट अनुमोदन गराएर इमेज सहकारीका संस्थापक अध्यक्ष नेपाली लगायत जिम्मेवार व्यक्तिहरुबाट बचतकर्ताहरुको बचत फिर्ता गराउन पहल गरिने विशेष साधारणसभामा जानकारी गराइएको थियो ।

पोखराको इमेज सहकारीबाट पीडित भएको भन्दै ५ सय २४ जनाले जिल्ला प्रहरी कार्यालय कास्कीका उजुरी दिएका छन् । बचतकर्ताहरुले ५७ करोड ९४ लाख ३ हजार ८५ रुपैयाको माग दावी गरेको प्रहरीले जनाएको छ ।

बचतकर्ताहरुबाट संकलित रकम इमेजका संस्थापक अध्यक्ष देव कुमार नेपाली र उनको परिवारको नाममा जग्गा खरिद गरेका कारण समस्या सिर्जना भएको पीडित बचतकर्ताहरुले बताएका छन् । ‘हामीले सहकारीका सदस्यहरुलाई लगानी गर्नका लागि बचत गर्याैँ, देव कुमारले सहकारीमा जम्मा भएको रकम आफ्नो सम्पत्ती जोड्न प्रयोग गरेछन्’, विशेष साधारणसभामा सहभागी एकजना बचतकर्ताले गुनासो पोखे ।

इमेज सहकारीका मुख्य सञ्चालकहरुलाई सम्पर्कमा आउन आव्हान गर्दै इमेज बचत पीडित संघर्ष समिति पोखराका संयोजक हरिबहादुर खत्रीले भने, ‘सम्पर्क विहिन भएर बस्दैमा समस्याबाट उम्कन पाइदैन, इमेजका पीडितले न्याय नपाउँदासम्म आन्दोलन जारी रहन्छ, त्यही भएर समयमै सम्पर्कमा आएर समस्या समाधान गरौं ।’

सरकारका तर्फबाट पनि पीडितलाई साथ नदिएको गुनासो खत्रीले गरे । राज्यले दर्ता गराएको सहकारीमा बचत जम्मा गर्ने बचतकर्ताको समस्यामा राज्य सहयोगी नभएको उनको गुनासो थियो । बचतकर्ता सदस्यहरुको रकम फिर्ता गर्न नसकेर संस्था बन्द गरी संस्थापक अध्यक्ष देव कुमार नेपाली सहित मुख्य जिम्मेवार व्यक्तिहरु सम्पर्कविहीन भएपछि पोखरा, बागलुङ बजार, गलकोट र बुर्तिबाङइमेज पीडित संघर्ष समिति गठन गरी पीडितहरुले आन्दोलन गर्दै आएका थिए ।

‘आन्दोलनसँगै सरोकारवाला निकायहरुमा कानुनी तरिकाले समस्याको समाधान खोज्न धेरै नै प्रयत्न गरियो, तर कही कतैबाट निकास आएन’, इमेज बचत पीडित संघर्ष समिति बागलुङका संयोजक डिल बहादुर कार्कीले भने, ‘समस्या समाधानका धेरै उपाय खोज्दै जादा संस्था व्यूताउने उपाय नै उत्तम विकल्पका रुपमा देखिएको छ । अझै धेरै काम गर्नु पर्नेछ, त्यसको सम्पूर्ण सहजीकरणका लागि कानुनी रुपमा अगाडि बढ्न सञ्चालक समिति चयन गरिएको हो । आन्दोलनले ध्यानाकर्षण गराएको छ, अब वैधानिक रुपमा अगाडि बढ्नका लागि संस्था सञ्चालन महत्वपूर्ण काम भएकाले सोही अनुसार अगाडि बढेका छाैँ ।’

देव कुमार नेपालीको नाममा रहेको सम्पती बैंकमा राखेर लिएको ऋण तिर्न बैंकले लिलामी प्रक्रिया अगाडि बढाएपछि पीडितहरुले संस्था ब्यूताएर समस्या समाधान गर्न बैंकहरुसंग समेत छलफल गरिएको संयोजक कार्कीले जानकारी दिए । पीडितहरुलाई कानुनी रुपमा अगाडि बढ्न जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइराला, राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले आग्रह गरे । उनीहरुले इमेज सहकारीका सदस्यहरुको प्रयास सकारात्मक छ, राज्यका निकायहरुसंग समन्वय गरेर पीडितहरुलाई न्याय दिने विषयमा अभियानको तर्फबाट साथ दिने प्रतिवद्धता व्यक्त गरे ।

विशेष साधारणसभा इमेज सहकारी पोखराका जेष्ठ शेयर सदस्य मिन बहादुर खत्रीको अध्यक्षता, शेयर सदस्य बद्री पोखरेलको स्वागत र इमेज बचत पीडित संघर्ष समिति बागलुङका सचिव याम बहादुर पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
 

Advertisment

थप समाचार