काठमाडौं : हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ७५ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आवको सोही अवधिको तुलनामा कम्पनीको नाफा ११.४७ प्रतिशत बढेको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीले ६७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढेको हो । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी १८१.६२ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी ४.६२ प्रतिशत बढेको छ । यस अवधिमा कम्पनीको लाभांश आम्दानी भने १९.३७ प्रतिशतले घटेको छ ।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य सुधार भएको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको इपीएस २६ पैसा बढेर ६ दशमलव ६१ रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ १०८.३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २८.०३ गुणा रहेको छ ।
Advertisment