काठमाडौं : सरकारका विभिन्न खातामा सवा २ खर्ब रुपैयाँ नगद मौज्दात रहेको छ । पछिल्लो समय सरकारी ढुकुटीमा निक्षेप थपिदै गएको पाइएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालुु आर्थिक वर्षको पुस मसान्तसम्म प्रदेश सरकार तथा स्थानीय तहको खातमा रहेको रकम समेत गरी राष्ट्र बैंकमा रहेका सरकारी खातामा २ खर्ब १६ अर्ब ८१ करोड ६ लाख रुपैयाँ नगद मौज्दात रहेको छ ।
राष्ट्र बैंकको अनुसार असार मसान्तसम्म यस्तो निक्षेप ४५ अर्ब ८ करोड ९४ लाख रुपैयाँ रहेको थियो । पुस मसान्तसम्म आइपुग्दा उक्त रकम एक खर्ब ७१ अर्ब ७२ करोड ११ लाख रुपैयाँ अर्थात ३८०.८४ प्रतिशतले थपिएको हो ।
एक महिनामा थपियो साढे ५६ अर्ब
एक महिनामा सरकारी खाताबाट साढे ५६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । गत मंसिरमा एक खर्ब ६० अर्ब २४ करोड ७६ लाख रुपैयाँ रहेको उक्त निक्षेप पुसमा ५६ अर्ब ५६ करोड २९ लाख रुपैयाँ थपिएको हो । जुन मंसिरको तुलनामा ३५.२९ प्रतिशतले बढी हो ।
मंसिर महिनामा राजस्व संकलनमा पनि सुधार देखिएपछि सरकारको ढुकुटीमा मौज्दात थपिएको थियो । सर्वोच्च अदातलले एफपीओको प्रिमियम तथा मर्जर÷प्राप्तिको लाभमा कर लिने बाटो खुला गरेपछि आन्तरिक राजस्व विभागले पनि लक्ष्यभन्दा १८.६२ प्रतिशत बढी राजस्व संकलन गरेको थियो ।
सरकारी वित्तसँगै अर्थतन्त्रको बाह्य क्षेत्रमा पनि सुधार हुँदै गएको राष्ट्र बैंकले जनाएको छ । शोधनान्तर स्थिति र विदेशी विनियम सञ्चिति लगातार बढ्दै जाँदा चालु खाता पनि बचतमा रहेको छ । रेमिट्यान्समा भएको उल्लेख्य सुधारले बाह्य क्षेत्र सुधार हुँदै गएको हो ।
आम्दानी ५ खर्ब १८ अर्ब, खर्च ५ खर्ब ६६ अर्ब
आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले ४८ अर्ब ४६ करोड ५७ लाख रुपैयाँ बराबर बजेट घाटा व्यहोरेको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५.१९ प्रतिशत आम्दानी र ३२.३५ प्रतिशत खर्च भएको छ ।
चालु आवका लागि सरकारले कूल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ बराबर राजश्व उठाउने लक्ष्य लिएकोे छ । कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा पाँच खर्ब १८ अर्ब १५ करोड ५६ लाख बराबर राजश्व असुली भएको छ । यो वार्षिक लक्ष्यको ३५.१९ प्रतिशत बराबर हो ।
छ महिनामा कर राजश्वतर्फ ३३.९८ प्रतिशत अर्थात् ४ खर्ब ४३ अर्ब ५५ करोड २० लाख रुपैयाँ उठेको छ । गैरकरतर्फ वार्षिक लक्ष्यको ४५.२३ प्रतिशत अर्थात् ५२ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ बराबर असुली भएको छ ।
चालु आवका लागि कूल ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म पाँच दशमलव ५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड ८० लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिइएको छ ।
चालु आवका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको वार्षिक बजेट रहेकामा पुस मसान्तसम्ममा पाँच खर्ब ६६ अर्ब ६२ करोड १३ लाख खर्च भएको छ । यो वार्षिक लक्ष्यको ३२.३५ प्रतिशत बराबर हो ।
चालुगत शीर्षकमा कूल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर बजेट छुट्याइएकामा ३८.३१ प्रतिशत अर्थात् चार खर्ब ३७ अर्ब ३८ करोड १२ लाख खर्च भएको छ । चालु शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ३८ दशमलव ३१ प्रतिशत हो ।
त्यसैगरी, पुँजीगत खर्च शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबर छुट्याइएकामा १६ दशमलव तीन प्रतिशत अर्थात् ४९ अर्ब २३ करोड ५८ लाख बराबर खर्च भएको छ ।
वित्तीय व्यवस्थामा ३ खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर बजेट विनियोजन भएकामा २६.२ प्रतिशत अर्थात् ८० अर्ब ४३ लाख बराबर खर्च भएको छ ।
Advertisment