Below Menu
Below Menu

छ महिनामा ५३ हजार बीमितले त्यागे साढे ६ अर्बका पोलिसी !

छ महिनामा ५३ हजार बीमितले त्यागे साढे ६ अर्बका पोलिसी !

काठमाडौं : पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढेको छ । चालु आर्थिक वर्षको छ महिनामा साढे ६ अर्ब बढीका पोलिसी सरेन्डर भएका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार गत पुस मसान्तसम्म ६ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५३ हजार ११३ बीमालेख सरेन्डर भएका हुन् ।

प्राधिकरणका अनुसार अघिल्लो आवको तुलनामा बीमा पोलिसी सरेन्डरको रकम १० करोड ४० लाख रुपैयाँले बढेको । आव २०७९/८० को पुस मसान्तसम्म विभिन्न कम्पनीका ४३ हजार ७१५ बीमितले ६ अर्ब ४४ करोड ४८ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका थिए ।

आर्थिक मन्दीका कारण बीमा पोलिसी त्याग्नेहरुको संख्या बढेको बीमा कम्पनीको भनाई छ । यसका साथै अभिकर्ताहरुले बीमितको क्षमता भन्दा बढीको बीमा गराएका कारण प्रिमियम तिर्न नसकेर पोलिसी त्याग्ने गरेको बीमा विज्ञहरु बताउँछन् ।

नेपाल लाइफ सर्वाधिक पोलिसी सरेन्डर

यस अवधिमा सर्वाधिक पोलिसी सरेन्डर हुनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । चालु आवको पुस मसान्तसम्म कम्पनीका १५ हजार ४७ बीमितिले २ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका हुन् ।

कुन कम्पनीका बीमितले कति त्यागे ?

प्राधिकरणका अनुसार यस अवधिमा राष्ट्रिय बीमा कम्पनीका ६ हजार ६०८ पोलिसी सरेन्डर भएका छन् । बीमितले ५८ करोड ८६ लाख २२ हजार रुपैयाँ बराबरको उक्त संख्यामा पोलिसी त्यागेका हुन् । 

त्यस्तै, यस अवधिमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ४३ करोड २३ लाख ५० हजार रुपैयाँ बराबरको तीन हजार ६७ बीमालेख सरेन्डर भएको छ । प्राधिकरणका अनुसार यस अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशनका १० हजार १२४ बीमितले एक अर्ब ३९ करोड ९० लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् । 

यस अवधिमा मेट लाइफको १९ करोड ९७ लाख ४१ हजार रुपैयाँ बराबरको २ हजार ५६ बीमालेख, एशियन लाइफको ४२ करोड ३१ लाख रुपैयाँ बराबरको ४ हजार ९०० बीमालेख, आईएमई लाइफको ५ करोड ८७ लाख रुपैयाँको ६५४ बीमालेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

त्यसैगरी, सन नेपाल लाइफको तीन करोड ११ लाख रुपैयाँ बराबरको ३०७ बीमालेख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चार करोड ४९ लाख रुपैयाँ बराबरको ७८० बीमालेख र सिटिजन लाइफको ६ करोड ९३ लाख २६ हजार रुपैयाँ बराबरको एक हजार ९२ बीमा पोलिसी सरेन्डर भएका छन् ।  

प्राधिकरणका अनुसार पुस मसान्तसम्म सूर्यज्योति लाइफका दुई हजार ५२८ बीमितले ३७ करोड ५४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् । सानिमा रिलायन्स लाइफको ८ करोड ८९ लाख रुपैयाँ बराबरको ८७५ पोलिसी सरेन्डर भएको छ ।

त्यस्तै, यस अवधिमा हिमालयन लाइफको ४३ करोड २१ लाख रुपैयाँ बराबरको ४ हजार ६१५ बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणले जनाएको छ । प्रभु महालक्ष्मी लाइफको ५ करोड ९१ लाख रुपैयाँ बराबरको ४९० वटा बीमालेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
 

Advertisment

थप समाचार