काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे दुई अर्ब रुपैयाँ बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषको २ अर्ब ४५ रुपैयाँ एक वर्षका लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।
राष्ट्र बैंकले उपदान तथा पेन्सुन कोषको २ अर्ब २० करोड रुपैयाँ र कर्मचारी सुरक्षण कोषको २५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
कोषको उक्त रकम फागुन ६ गतेदेखि २०८१ फागुन ५ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रुपमा भुक्तानी हुने गरी लगानी गर्न लागेको सूचनामा उल्लेख छ ।
बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ७६ करोड, ‘ख’ वर्गका विकास बैंकमा ३३ करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ११ करोड रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो ।
त्यस्तै केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषकोमा रहेको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा २० करोड, ‘ख’ वर्गका विकास बैंकमा ३ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १ करोड २५ लाख रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो ।
बैंकका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको न्युनतम पुँजीकोष अनुपात कायम रहेको हुनुपर्नेछ ।
त्यस्तै, निष्क्रिय कर्जा कसल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हनुपर्ने, सिडि रेसियो अनुपात बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको हनुपर्नेछ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी माघ २४ गते राती ७ बजेभित्र आवेदन दिन आग्रह गरेको छ ।
Advertisment