काठमाडौं : एनएमबि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा ६ करोड ७५ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।
गत आवको सोही अवधिमा १३ लाख ५३ हजार रुपैयाँ नाफा आर्जन गरेको संस्थाले चालु आवको यस अवधिमा आइपुग्दा उक्त रकम बराबरको घाटा व्यहोरेको हो । समिक्षा अवधिमा कम्पनीेको खराब कर्जा बढ्दा संस्थाले नोक्सानी व्यहोरेको हो ।
गत आवको सोही अवधिमा ४.९४ प्रतिशत रहेको संस्थाको खराब कर्जा बढेर समीक्षा अवधिसम्म ७.८५ प्रतिशत पुगेको छ । खराब कर्जा बढ्दा संस्थाको खुद ब्याज आम्दानी पनि ३३.८९ प्रतिशतले घटेको छ ।
गत वर्षको पुससम्ममा १६ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको संस्थाको ब्याज आम्दानी यस अवधिमा १० करोड ७६ लाख रुपैयाँमा खुम्चिएको छ ।
पुस मसान्तसम्म आइपुग्दा संस्थाले ६ करोड ७६ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा संस्थाले १० लाख ८३ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
संस्थाको चुक्तापुँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको छ भने रिजर्भको आकार ४.२२ प्रतिशतले घटेर १८ करोड ९० लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष रिजर्भमा १९ करोड ७४ लाख रुपैयाँ थियो ।
पुस मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी १८.७३ रुपैयाँले ऋणात्मक रहेको छ छ । मूल्य आम्दानी अनुपात २९.६८ गुणाले ऋणात्मक रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १२९.९५ रुपैयाँ रहेको छ ।
Advertisment