काठमाडौं : मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा एक करोड ३३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ३८.७३ प्रतिशतले कम हो । गत वर्षको पुससम्म कम्पनीले २ करोड १७ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा खुद नाफा घटेको हो । यसका साथै संस्थाको खराब कर्जा बढेका कारण पनि नाफामा असुर परेको हो ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खराब कर्जा ३.२९ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २.५६ प्रतिशतले घटेर ५ करोड ५७ लाख रुपैयाँमा सिमित भएको छ ।
त्यस्तै, लघुवित्तको सञ्चालन मुनाफा ५७.२० प्रतिशत घटेको छ । गत आवको सोही अवधिमा २ करोड ६२ लाख रुपैयाँ सञ्चालन नाफा रहेको संस्थाको यस्तो नाफा यस अवधिमा आइपुग्दा घटेर एक करोड १२ लाख रुपैयाँमा सिमित भएको छ ।
पुस मसान्तसम्म लघुवित्तको प्रतिशेयर आम्दानी भने ९ रुपैयाँ ६० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६७.२२ गुणा रहेको छ ।
Advertisment