काठमाडौं : महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा २ करोड ६१ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १.४५ प्रतिशतले कम हो । गत वर्षको पुससम्म कम्पनीले २ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा खुद नाफा घटेको हो ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खराब कर्जा ४.७९ प्रतिशतबाट घटेर ४.६४ प्रतिशत पुगेको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २३.५३ प्रतिशतले घटेर १२ करोड २३ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी २१.६८ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा १.४६ प्रतिशत घटेको छ । गत आवको सोही अवधिमा तीन करोड ७८ लाख रुपैयाँ सञ्चालन नाफा रहेको संस्थाको यस्तो नाफा यस अवधिमा आइपुग्दा घटेर तीन करोड ७३ लाख रुपैयाँमा सिमित भएको छ ।
यस अवधिमा आइपुग्दा कम्पनीको इम्पेरिमेन्ट चार्ज ५ करोड ४२ लाख रुपैयाँबाट घटेर एक करोड १८ लाख रुपैयाँ कायम भएको छ ।
पुस मसान्तसम्म लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेर १६ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९५.६६ गुणा रहेको छ । यस अवधमिा कम्पनीको वितरणयोग्य नाफा ७ करोड ६३ लाख रुपैयाँ रहेको छ ।
Advertisment