काठमाडौं : शेयर लगानीकर्ता रमेश खरेल, जो शेयर बजारका ‘नटरलाल’ उपनामले चिनिन्छन् । तिनै ‘नटरलाल’ बाट अहिले धेरै ब्रोकर कम्पनीहरू ठगिएको पाइएको छ ।
नटरलालको उपनामले चिनिएका खरेलले खाली चेक दिँदै उधारो कारोबार गरेपछि सम्पर्क विहीन हुने गरेको ब्रोकर कम्पनीको गुनासो छ । निजगढ बारा स्थायी घर भई हाल काठमाडौं जोरपाटी बस्ने खरेलका कारण ब्रोकर कम्पनी ठगिएको एक ब्रोकर कम्पनीको सञ्चालकले बताए । उनका अनुसार टाईसुट लगाएर चिटिक्क परेर बजार निस्कने शेयर लगानीकर्ता खरेलले धेरै कम्पनीबाट शेयर कारोबार गर्ने गरेका छन् ।
उनको ठगी शैलीले जो कोहीलाई अचम्मित बनाएको स्रोतको भनाई छ । शेयर कारोबारका लागि उनले हरेक पटक नयाँ ब्रोकर कम्पनीमा खाता खोल्ने गरेको पाइएको छ ।
स्रोतका अनुसार चिटिक्क परेर ब्रोकर कम्पनीमा खरेलको प्रवेश हुन्छ । कारोबार गर्नको लागि खाता खोल्छन् । खाता खोलेपछि शेयर कारोबारका लागि योग्य पनि हुन्छन् । शेयर खरिद गर्नको लागि लिमिट आवश्यक हुन्छ । उक्त लिमिटका लागि उनले ‘क’ वर्गको बैंकको चेक ब्रोकर कम्पनीलाई दिन्छन् । चेक दिएपछि ब्रोकर कम्पनीले लिमिट पनि खोलीदिन्छ । खरेलले लिमिट अनुसार सेयर कारोबार सुरु गर्छन् ।
तर, यता पटक पटक चेक क्लियरिङको लागि प्रयास गर्दा पनि ब्रोकर कम्पनी सफल हुँदैनन् । तर, खरेलले भने लिमिट अनुसारको सेयर खरिद गरिसकेका हुन्छन् । चेक नसाटिएपछि ब्रोकर कम्पनीले उनलाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमै आउँदैनन् । उनले दिएको चेक पनि साटिँदैन । शेयर खरिद गरे बापतको रकम पनि भुक्तानी गर्दैनन् ।
प्राप्त जानकारी अनुसार यस्तो घटना उनको एउटा मात्रै नभई तीनभन्दा बढी कम्पनी पुगिसकेको छ । ती कम्पनीहरुले उनलाई कालोसूचीमा समेत राखिसकेका छन् भने ठगीको उजुरी दिने तयारीमा उनीहरू छन् । खरेलले एउटै कम्पनीबाट एकै पटकमा करोड भन्दा बढीको कारोबार गर्छन् । एउटा कम्पनीमा कारोबार गर्न सफल भएपछि अर्को कम्पनीमा प्रवेश गर्छन् । कारोबार सफलपछि त्यस कम्पनीबाट सम्पर्कविहीन भई अर्को कम्पनीबाट कारोबार सुरु गर्छन् ।
‘एउटा मात्रै कम्पनीमा नभई धेरै वटामा उनले ठगी देखियो । अरू धेरै ब्रोकर कम्पनीमा यस्तो घटना हुन सक्छ’, ती ब्रोकर कम्पनी सञ्चालकले भने, ‘ती ठगलाई कालोसूचीमा राखी गुठीको मुद्दामा जाने हाम्रो तयारी छ ।’
ब्रोकर कम्पनीका कर्मचारीलाई प्रभावित भनाई उनले कारोबार गर्दै आएको स्रोतको दाबी छ । हाल उनी कुनै पनि ब्रोकर कम्पनीको सम्पर्कमा छैनन् । यता, नेप्सेलाई यस विषयमा जानकारी गराउँदा पनि कुनै किसिमको समाधान निस्कन नसकेको ती सञ्चालकको भनाई छ ।
उनले हालसम्म क्यापिटल म्याक्स, सन सेक्युरिटी र नासा सेक्युरीटिजबाट करोडौंको शेयर कारोबार गरिसकेको स्रोतले बताएको छ । स्रोतका अनुसार खरेलले क्यापिटल म्याक्सबाट २ करोड ५० लाख, सन सेक्युरिटजबाट १ करोड ५० लाख र नासा सेक्युरिटजबाट २ करोड रुपैयाँ बराबरको कारोबार गरिसकेका छन् ।
Advertisment