काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (बागमती प्रोस्कून) का अध्यक्ष उद्भव सापकोटाले सहकारी अभियान सुधारका लागि सरकारको साथ आवश्यक रहेको बताएका छन् ।
बागमती प्रोस्कूनको आयोजना तथा नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को व्यवस्थापनमा आइतबार काठमाडौंमा आयोजना गरेको ‘सञ्चारकर्मीहरूका लागि वित्तीय बुझाई अभिवृद्धि तालिम’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । केही सिमित सहकारीका बदमासीले समग्र सहकारीमा समस्या परेको बताउँदै सहकारी अभियान सफल बनाउन सरकारको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै उनले भने, ‘विश्वका अन्य देशमा पनि यस्तो समस्या आएको थियो । समस्यामा परेका सहकारीले त्यहाँको सरकारको सहयोग पाएपछि अहिले सहज ढंगले चलेका छन् । सरकारको सहयोग रहने हो भने नेपालको सहकरी अभियान पनि व्यवस्थित ढंगले फेरी सुध्रिन्छ ।’ यसका साथै उनले सहरी क्षेत्रका सहकारी सञ्चालकले सहकारीलाई व्यवसायिक बनाउँदा समस्या आएको बताए ।
‘समुदायमा केन्द्रीत गाउँका सहकारीमा समस्या छैन । बैंक भन्दा राम्रो तरकाले चलेका सहकारी पनि छन्’, उनले थपे, ‘विश्वको उदाहरण हेर्ने हो भने सहकारीबाट समुदायमा धेरै राम्रा काम भएका छन् ।’
सहकारीहरु सदस्य केन्द्रीत नहँदा समस्या आएको दोहोर्याउँदै उनले भने, ‘जनप्रतिनिधिले सहकारी बुझेनन् । सहकारीलाई व्यवसाय बनाए । आर्थिक सहकारी सिद्धान्तमा चल्ने हो भने आर्थिक समृद्धिका लागि सहयोग पुग्नेछ ।’
सोही कार्यक्रमका बोल्दै बागमती प्रोस्कूनका महासचिव जिवसराज खड्काले सहकारीलाई हेर्ने दृष्टिकोण नै फरक भएको बताए । सहकारीमाथि चौतर्फी रुपमा आरोप लागेको बताउँदै उनले भने, ‘सहकारीलाई हेर्ने, विश्लेषण गर्ने र सहकारीको अवस्थाको रुपमा सही विश्लेषण भएन ।’
सबै सहकारी समस्यामा नरहेको उनको तर्क छ । ‘सबै सहकारी खराब छैनन् । केही सहकारीहरूबाट गलत काम पनि भएका छन् । सबैलाई सबैलाई एकै ठाउँमा राखेर हेर्न मिदैन,’ उनले थपे ।
सहकारी बुझाईमा एकरुपता आउने पर्ने बताउँदै उनले भने, ‘साझा बुझाईको साथमा सहकारीको विश्लेषण हुुनुपर्छ । बचतकर्ताहरुले पटुकी कसेर जम्मा गरेको पैसाको बारेमा विस्तृत कुरा बाहिर आएन भने नकारात्मक सन्देश जान्छ ।’
Advertisment