काठमाडौं : नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
उक्त विवरण अनुसार समिक्षा अवधिमा कम्पनीको खुद नाफा १५.२३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १९ करोड २० लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवको दोस्रो त्रैमासमा २२ करोड १२ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको छ ।
कम्पनीको खुद बीमा शुल्क आर्जन ६१ करोड ६० लाख ५९ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको तुलनामा भने ६.१० प्रतिशत बढी हो । समिक्षा अवधिमा कम्पनीले ३३ करोड ९१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
कम्पनीको कुल आम्दानी १ अर्ब १५ करोड १० लाख रुपैयाँ, कुल खर्च ६९ करोड ४१ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ र विशेष जगेडा कोषमा १ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ छ । त्यस्तै महाविपत्ती कोषमा १२ करोड २३ लाख रुपैयाँ ।
यस्तै, कम्पनीको रिटेन्ड अर्निङ्ग ३६ करोड ३४ लाख र अन्य इक्विटी २६ करोड ४७ लाख रुपैयाँ छ। नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेको छ । कम्पनीको इपिएस २१ रुपैयाँ ९९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ०१ पैसा छ।
Advertisment