काठमाडौं : नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कारवाही गरेको छ । राष्ट्र बैंकले तोकेको नियम उल्लंघन गर्ने तीन विकास बैंक र दुई फाइनान्स कम्पनीका सञ्चालक समिति, अध्यक्ष र सीईओ कारवाहीमा परेका हुन् ।
राष्ट्र बैंकका अनुसार मुक्तिनाथ विकास बैंकका सञ्चालक समिति, अध्यक्ष र सीईओलाई कारवाहीमा परेका छन् । अध्यक्ष र नै परेका छन् । सो बैंकले संस्थाबाट व्यक्तिगत तथा सामुहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम कम्पनी ऐनको दफा ९३, संस्थाको ग्राहक संरक्षण कोष सञ्चालन कार्यविधि, २०७९ तथा संस्थागत सुशासनको मर्म र भावना विपरीत निर्णय गरी ऋणी ग्राहक सदस्यको सामूहिक हित नहुने अन्य उद्देश्यमा खर्च गरेको पाईएको राष्ट्र बैंकले जनाएको छ ।
साथै उक्त रकम पछि फिर्ता गरेको भनी जानकारी गराएको भएतापनि नीति विपरित ग्राहक संरक्षण कोषको प्रयोगबाट वित्तीय संस्थाका निक्षेपकर्ता र सर्वसाधारणको हित विपरीतको कार्य भएको पाइएकोले सो सम्बन्धी निर्णय प्रक्रियामा संलग्न संस्थाको सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराइएको हो ।
त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको सञ्चालक समिति र सीईओमाथि कारवाही भएको छ । संस्थाको समष्टिगत स्थलगत निरीक्षणको क्रममा संस्थाका स्वतन्त्र सञ्चालकलाई निजको पहिलो कार्यकाल समाप्त भएपश्चात् समेत निज स्वतन्त्र सञ्चालककै हैसियतमा सञ्चालक समितिको बैठकमा निरन्तर उपस्थित गराई निर्णय प्रक्रियामा सहभागी गराएको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १५ को उपदफा (१) मा भएको व्यवस्था विपरित निजलाई दोश्रो कार्यकालका लागि समेत स्वतन्त्र सञ्चालकको रुपमा पुनः नियुक्त गरेको पाईएकोले अब उप्रान्त त्यस किसिमको कार्य नगर्न संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक साथै, सो कानुनी व्यवस्थासम्मत नहुने गरी दोश्रो कार्यकालका लागि नियुक्त निज स्वतन्त्र सञ्चालकलाई तत्काल हटाई जानकारी गराउन समेत राष्ट्र बैंकले आदेश दिएको छ ।
त्यस्तै, संस्थाकोसमष्टिगत स्थलगत निरीक्षणको क्रममा यस बैंकले जारी गरेको आधार दर गणना सम्बन्धी कार्यविधि, २०६९ बमोजिम गणना गर्नुपर्ने कर्जाको आधार दरलाई संस्थाको सिईओले नियम विपरित आफ्नो तजविजले एकै महिनामा पटक पटक कोर बैकिङ सिस्टम मै गई आधार दर परिवर्तन गरेको पाइएको भन्दै राष्ट्र बैंकले सिईओलाई सचेत गराएको छ ।
राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई दुई पटक संस्थागत कारवाही गरिएको छ । बैंकले साउन देखि असोजसम्मको अवधिमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको भन्दै राष्ट्र बैैंकले १२ हजार ८४६ रुपैयाँ २८ पैसा नगद जरिवाना गरेको छ ।
त्यस्तै संस्थाको कर्जा–निक्षेप अनुपात साउनमा पहिलो पटक र भदौमा दोश्रो पटक यस बैंकबाट जारी गरिएको एकीकृत निर्देशन अनुसार तोकिएको अधिकतम ९० प्रतिशतको सीमाभन्दा बढी रहेको पाइएको भन्दै राष्ट्र बैंके कुल २ लाख ४१ हजार ९२४ रुपैयाँ ०१ पैसा हर्जाना लगाइएको छ ।
त्यस्तै राष्ट्र बैंकका अनुसार प्रोग्रेशिभ फाइनान्सका सञ्चालक समिति र सीईओ गुडबिल फाइनान्सका सीईओ र सञ्चालक समिति र गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सका सीईओ समेत कारवाहीमा परेका छन् ।
नेपाल राष्ट्र बैंकले यी संस्था, संस्थाका सीईओ, सञ्चालक समिति र अध्यक्षहरुलाई बिभिन्न नियमन उल्लंघन गरे वापत चालु आर्थिक बर्षको दोश्रो त्रैमासिक अवधीमा कारवाही गरेको हो ।
Advertisment