Below Menu
Below Menu

छत्तीस वर्षदेखि कुखुराको व्यापारमा तल्लिन छविलाल

छत्तीस वर्षदेखि कुखुराको व्यापारमा तल्लिन छविलाल

कञ्चनपुर : तीन दशकअघिदेखि शुक्लाफाँटा नगरपालिका-९ सिसैयाका ५४ वर्षीय छविलाल सार्की साइकल चढेर बिहानीको झिसमिसेमै गाउँबस्तीमा स्थानीय जातका कुखुरा खोज्न जान्छन्‌ ।

उनले स्थानीय जातका कुखरा गाउँघरबाट खरिद गरी बेच्ने गर्दै आएका छन् । कुखुरा बेचेर आउने रकमले सार्की परिवारको घरखर्च चल्ने गरेको छ । दैनिक १० देखि २० किलोसम्म कुखुरा बेच्ने गरेको उनी बताउँछन् ।

‘साइकल चढेर दैनिक गाउँघरमा पुग्छु’, उनले भने, ‘गाउँबाट खरिद गरिएका कुखुरा महेन्द्रनगर, अत्तरियालगायतका बजारमा पुर्याएर बेच्ने गर्छु, यो कार्य ३६ वर्षअघिदेखि गर्दै आएको छु ।’ १८ वर्षको उमेरदेखि कुखुरा खोज्ने र बेच्ने कार्यमा सार्की संलग्न छन् ।

‘घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालय पढ्न पाइनँ’, सार्कीले भने, ‘आमाबुवाले विद्यालय पठाएनन्, दलित समुदायको भएर होला पढ्नुपर्छ भन्ने त्यसबेला चेतना नै थिएन, जीवन चलाउनका लागि केही त गर्नैपर्यो, त्यही भएर कुखुरा खोज्ने बेच्ने कार्यमा लागेँ ।’

आर्थिक अवस्था निकै नाजुक भएकाले बुवाले घरमै पालिएको कुखुरा बेच्न बजार पठाए, त्यसबेला कुखुरा प्रतिकिलो रु ३० मा बिक्री हुन्थ्यो’, विगत सम्झै सार्कीले भने, ‘कुखुरा बेचेर नगद रकम हातमा पर्यो, खरिद गर्ने व्यक्तिले अरु कुखुरा भए ल्याउन भने, मनमनै सोचे यसै कार्यलाई व्यापार बनाएर जीविका चलाउने आधार बनाए अघि बढ्ने निधो गरेँ ।’ त्यसपछि कुखुरा खोज्ने, बिक्री गर्ने कार्य गर्न थालेको उनी बताउँछन्‌ ।

कुखुरा खरिद गर्नका लागि पैसा नभएपछि आफन्तसँग केही रकम सापटी मागेर कुखुरा खरिद गर्न थालेको उनी स्मरण गर्छन् । महेन्द्रनगर बजार पुर्याएर बेच्ने गर्न थालेपछि आम्दानी सोचेजस्तै भएपछि यस कार्यलाई अहिले पनि नछाडेको उनी उल्लेख गर्छन् ।

गाउँघरबाट रु छ सय प्रतिकिलोका दरले सार्कीले कुखुरा खरिद गरेर बजारमा पुर्याएर रु छ सय ५० मा बिक्री गर्छन् । जसबाट उनीको मासिक आम्दानी रु २० देखि २५ हजारसम्म हुने गरेको छ । कुखुरा बेचेर आएको आम्दानीबाट सार्कीले गाउँमा तीनकोठे पक्की घर ठड्याएका छन् । उनले चार छोरीको पढाइसँगै विवाह खर्च कुखुरा बेचेकै पैसाबाट व्यहोरेका छन् । उनका एक छोरी विद्यालयमा पढ्दैछिन् भने छोरा यस वर्ष कमाउनका लागि भारततर्फ लागेका छन् ।

‘पहिले स्थानीय जातका कुखुरा विशेषगरी थारू समुदायका घरघरमा निकै बढी हुने हुँदा खोज्न बढी परिश्रम गर्नु पर्दैनथ्यो’, उनले भने, ‘हाल थोरै परिवारका घरमा मात्रै स्थानीय जातका कुखुरा पाइने गरेका छन्, कुखुरा खोज्नका लागि टाढाटाढाका गाउँसम्म पुग्नुपर्ने हुन्छ ।’ कुखुरा पाइएका दिन आम्दानी हुने भए पनि कुखुरा नपाइएका दिन रित्तो हात घर फर्कनुपर्ने अवस्था पनि हुने गरेको उनी सुनाउँछन्‌ । घरमा उनको आफ्नो स्वामित्वको सात कठ्ठामात्रै जग्गा छ ।

वर्षभरिका लागि जग्गामा उत्पादन हुने अन्नले नपुग्दा बजारबाट कुखुरा बेचेकै पैसाले खरिद गरी साँझ बिहानको छाक टार्नुपर्ने अवस्थासमेत उनलाई आइलाग्ने गरेको छ । नुन, तेल, सोडा साबुन, लुगाफाटोलगायतका घरायसी खर्च कुखुरा बेचेकै पैसाले व्यहोर्दै आएको उनी बताउँछन्‌ ।

वर्षौंदेखि यसै पेसामा लागेकाले अधिकांश गाउँका बासिन्दाले उनलाई चिन्छन् । चिनजान बढ्दै जाँदा कुखुरा खोज्न सहज हुने गरेको उनी उल्लेख गर्छन् । ‘यस व्यापारमा लागेपछि अरुसँग हात फैलाएर माग्न गएको छैन’, उनले भने, ‘अरुलाई आपतविपद्‌ पर्दा सहयोग गरेको छु, आफू र परिवार खर्च सहजरूपमा चलाउँदै आएको छु, यसमै खुसी छु, ।’ 

वडाध्यक्ष रमेशबहादुर ऐर छविलाललाई पौरखीका रूपमा चिन्ने गर्दछन् । ‘आफैँ पौरख गरेर जीविका चलाउने व्यक्तिका रूपमा उहाँलाई चिनेको छु’, उनले भने, ‘आफ्नो कार्यमा सधैँ खटिरहन्छन्, युवाहरूका लागि उहाँ प्रेरणाका स्रोतका रूपमा रहेका छन् ।’

Advertisment