Below Menu
Below Menu

पोखरा रोयलका कर्मचारीलाई एक घण्टा पढ्ने समय, महिनामा एउटा पुस्तक पढ्नै पर्ने

पोखरा रोयलका कर्मचारीलाई एक घण्टा पढ्ने समय, महिनामा एउटा पुस्तक पढ्नै पर्ने

कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पठन संस्कृति कार्यक्रम शुरुवात गरेको छ ।

श्रीपञ्चमी पर्व तथा सरस्वती पुजाको दिनको अवसर पारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले कार्यक्रमको शुभारम्भ गरेका छन् । संस्थामा कार्यरत कर्मचारीहरुको पठन संस्कृतिलाई थप मद्धत पुर्याउने अभिप्रायले संस्थाले ४ वटै कार्यालयमा हरेक महिनाको अन्तिम शुक्रबार १ घण्टा अध्ययनको लागि समय व्यवस्थापन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत गुरुङ्गले बताए। अबदेखि प्रत्येक कर्मचारीले हरेक महिना एउटा पुस्तक अनिवार्य पढ्नै पर्ने र आफुले पढेको पुस्तकको समिक्षात्मक प्रतिवेदन समेत संस्थामा पेश गर्नुपर्ने उनले बताए ।

पछिल्लो समय प्रविधिको विकाससँगै पुस्तक तथा पत्रपत्रिका पढ्ने, हातले लेख्ने र रेडियो सुन्ने जस्ता संस्कार हराउँदै गएको छ । कम्प्यूटर, मोबाईल र ल्यापटपमा मात्र भर पर्दा एकातिर आँखामा समस्या आउने गरेको र अर्कोतिर लिखित दस्तावेज, पुस्तकहरुको अध्ययन गर्ने बानी हट्दै गएकोले यसको जगेर्ना गर्न समेत पठन संस्कृतिको विकास गरिएको गुरुङ्गले बताए ।

संस्थामा ५० जना बढी कर्मचारीहरु कार्यरत छन् । संस्थाले प्रधान कार्यालयमा पुस्तकालय तथा सहकारी प्रदर्शनी कक्ष र हरेक सेवा केन्द्रहरुमा मिनि लाईब्रेरीको अवधारणा अगाडि सारेको छ । 

कार्यक्रम शुभारम्भका दिन चारवटै कार्यालयका कर्मचारीले आफुले मन परेको एक एक वटा पुस्तक लिएर आएका थिए । ती पुस्तकहरु गोला प्रथाको माध्यमबाट एकले अर्को साथीसँग साटफेर गरेर अध्ययन संस्कारको शुरुवात गरिएको थियो । 

अब हरेक महिनाको एक दिन एक घण्टा सबै कर्मचारीहरुले संस्थाको अध्ययन कक्षमा बसेर आफुले मन पर्ने पुस्तक पढ्छन् र यसले कर्मचारीहरुमा सकारात्मक उर्जाको विकास हुने संस्थाका मूख्य प्रबन्धक तथा सूचना अधिकारी मीलन ढकालले बताए ।

Advertisment

थप समाचार