काठमाडौं : ललितपुर महानगरपालिकाले सोमनाथ बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरुको खोजी शुरु गरेको छ । बचतकर्ताको रकम फिर्ता गर्ने दुवै पक्षबीच बचत फिर्ता गर्ने सहमती भएपनि बचत फिर्ता नगरेको गुनासो आउने गरेको महानगरले जनाएको छ ।
बचतकर्ताको रकम फिर्ता नगर्नुको चित्तबुझ्दो जवाफ ३५ दिनभित्र सबै सञ्चालक, लेखा समिति सहित यस कार्यालयमा उपस्थित भई पेश गर्न महानगरले एक सूचना जारी गरेको छ ।
अन्यथा सञ्चालक, लेखा समिति र व्यवस्थापकहरुलाई नियमानुसार कारवाही अगाडी बढाइने महानगरले जनाएको छ ।
ललितपुर महानगरपालिका वडा नं. १५ ठेगाना भई हाल वडा नं. १८ मा कार्यालय रहेको सोमनाथ बहुउद्देश्यीय सहकारी संस्था लि. (दर्ता नं. १२४१) ले बचत फिर्ता नगरेको भनी सोही संस्थाका सदस्य बचतकर्ताहरुबाट विभिन्न मितिमा उजुरी परेको थियो ।
उक्त उजुरी माथि केही बचतकर्ताहरुसँग संस्थाका सञ्चालकहरुबीच महानगरले कार्यालयमा छलफल गराई दुवै पक्षबीच बचत फिर्ता गर्ने सहमती गरेको थियो तर, सहमती बमोजिम बचत फिर्ता नगरेको भनी गुनासोहरु आउने गरेको महानगरले जनाएको छ ।
सहमती बमोजिम बचत किन फिर्ता नगरेको ?भन्दै बचत फिर्ता गर्ने योजना पेश गर्न र यस शाखामा सम्पर्क गर्न आउन पटक पटक संस्थाको ठेगानामा पत्र पठाउँदा संस्था बन्द भएको भनी मुचुल्का गरी आएको र १८ नं. वडा कार्यालय मार्फत पत्र बुझाउन पठाउँदा संस्था बन्द भएकोले पत्र बुझाउन नसकेको भनी लेखि आएको महानगरको भनाई छ ।
महानगरद्वारा जारी सूचनामा भनिएको छ,‘ललितपुर महानगरपालिकाको सहकारी ऐन २०७५ को दफा ४२ को उपदफा (२) मा कुनै सदस्यले संस्थामा जम्मा गरेको बचत फिर्ता माग गरेमा निजको कुनै दायित्व भए त्यस्तो दायित्व कट्टा गरी बाँकी रकम तोकिए बमोजिम निजलाई फिर्ता गर्नु पर्नेछ भन्ने व्यवस्था अनुसार बचत किन फिर्ता नगरेको ? सहमती बमोजिम बचत फिर्ता किन नगरेको ? संस्था किन बन्द गरेको ? अब बचत के कसरी फिर्ता गर्ने योजना छ ? सो को चित्तबुझ्दो जवाफ ३५ दिनभित्र सबै सञ्चालक, लेखा समिति सहित यस कार्यालयमा उपस्थित भई पेश गर्नु हुन सूचित गरिन्छ ।’
Advertisment