पूर्णरुपमा स्थापित भइसकेको नेपालको पर्यटनको ७३ वर्षभन्दा बढीको इतिहास छ । ट्रेकिङ, माउन्टेनेरिङ, साहसिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य नेपाल हो । ‘नेपाल इज द आइटिनरी प्लेस’ अर्थात् विश्वकै नमुना गन्तव्य स्थल भन्नेमा कसैको दुईमत छैन ।
कतिपय यस्ता सम्पदा छन् जो अन्त कहीं पनि पाइँदैन । जस्तो सगरमाथा आरोहण गर्नलाई नेपाल नै आउनुपर्दछ । एकसिंगे गैंडा हेर्न नेपाल नै आउनुपर्दछ । यस्ता धेरै सम्पदा नेपालमा छन् । त्यसलाई अझै बढाउँदै लैजान सकिन्छ ।
पर्यटनबाट छोटो समयमै आर्थिक समृद्धि
यतिबेला विश्व परिवेशमा अरु देशले जसरी पर्यटन अगाडि बढाइरहेका छन् त्यही गुणस्तर दिने हिसाबले नेपालमा पनि काम भइरहेको छ । त्यसैले देशको स्थापित क्षेत्र पर्यटन बनिसकेको छ । छोटो समयमै आर्थिक समृद्धि ल्याउने उद्योगको रुपमा व्यावसायिकरुपमा पर्यटन अगाडि बढेको छ ।
कुनै पनि पर्यटक विमानस्थल वा सीमा नाकामा प्रवेश गर्नासाथ खानपिन, ट्याक्सी वा अन्य सवारीको प्रयोगलगायत गतिविधिका साथ खर्च सुरु गर्दछ । त्यो खर्च अर्थतन्त्रमा भित्रिनेछ । यो बहुआयामिक क्षेत्र हो । यसले किसानदेखि यातायात, सञ्चार, बैंक, इन्स्योरेन्स, बजार सबैलाई एकैपटक फाइदा पुर्याउने छ ।
विश्व व्यापार संगठनको तथ्याङ्कअनुसार एक जना पर्यटक आगमन हुँदा प्रत्यक्ष÷अप्रत्यक्षरुपमा ११ जनालाई आर्थिक फाइदा पुर्याउनेछ । हामी ठूला छिमेकी भारत र चीनको बीचमा छौं । यी दुवै देश संसारकै द्रुत आर्थिक वृद्धि गरेर अगाडि बढिरहेका मुलुक हुन् । सन् २०१९ को तथ्याङ्कअनुसार २० करोड चिनियाँ बिदा मनाउन बाहिरी देश गएका थिए । त्यो संख्या भारतमा १० करोडको हाराहारीमा छ । त्यो बेलाको ३० करोडको संख्या अहिले बढेको छ । त्यो संख्याको एक वा दुई प्रतिशतमात्रै ल्याउन सकेमात्रै पनि नेपालले अन्तको आश गर्नै पर्दैन ।
आन्तरिक पर्यटन व्यवस्थित र संस्थागत
अहिले पर्यटनका सम्पूर्ण काम निजी क्षेत्रले हाँकिरहेको भन्दा अत्युक्ति नहोला । कोभिडका कारण बीचमा पर्यटन क्षेत्रमा धेरै नै अप्ठ्यारो परेको थियो । कोभिडपछि सन् २०२३ बाट विस्तारै नेपालको पर्यटन पुरानै लयमा फकिँदै गएको छ । विशेष महत्व राख्ने छिमेकी देश भारत र चीनका साथै अन्तर्राष्ट्रिय जगतबाट आउने पर्यटकको संख्या क्रमिकरुपमा बढिरहेको छ ।
सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पूरा गरेको छ । विदेशी पर्यटन बजारबाट नेपाल घुम्न आउनका लागि सोधपुछ गर्नेहरू पनि बढिरहेका छन् । आन्तरिक पर्यटन पनि व्यवस्थित र संस्थागत हुँदै पछिल्ला दिनमा संख्या बढेर गएको छ । त्यस्तै सन् २०२३– २०३२ लाई पर्यटन दशकको रुपमा मनाउने सरकारी घोषणा छ । सन् २०२५ लाई विशेष पर्यटन भ्रमण वर्ष मनाउने भनेर भनिएको छ ।
यी सबै परिस्थिति हेर्दा पर्यटन क्षेत्र अगाडि बढ्ने खाका प्रस्तुत भएको छ । एकपछि अर्को अन्तर्राष्ट्रिय चेन होटलहरू थपिइरहेका छन् । केबलकारदेखि अन्य धेरै पूर्वाधारहरू निर्माण भइरहेका छन् । यो एउटा सुखद पक्ष हो ।
३५ लाख राख्ने क्षमताका होटल
अहिले माउन्टेनेरिङ, याफ्टिङ, ट्रेकिङसहित होटलहरूले ३५ लाख ग्राहकलाई आतित्थ्य सेवादेखि खाने, पिउने, बस्ने, मनोरञ्जन गराउने, सभा सम्मेलन गराउने क्षमता राख्दछन् । दिनसक्ने सेवा ३५ लाखको भए पनि सरकारको लक्ष्य १० लाखमात्रै रहेको छ । त्यो पनि मुस्किलले मात्रै पूरा भइरहेको देखिन्छ । अहिले हवाई क्षेत्र, विमानस्थल, राजमार्ग, सडक, सफाइलगायत कनेक्टिभिटीमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
पोखरा र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयारी अवस्थामा छन् तर सञ्चालनमा ल्याउन नसक्दा सोचेअनुरुप पर्यटक बढ्न सकिरहेका छैनन् । काठमाडौंस्थित त्रिभुवन विमानस्थलको मात्रै भर छ । सडकमार्फत पनि हामीले प्रशस्तै भारतीय र चिनियाँ पर्यटक ल्याउन सक्ने सम्भावना छ ।
तर हाम्रा सडक सञ्जालहरूको सुखद अवस्था छैन । यात्रा गर्न गाह्रो छ र समय धेरै लाग्दछ । सरकारी संयन्त्रबाट पूर्वाधार एवं नीति, नियममा गर्नुपर्ने सुधार गरिदिने हो भने नेपालको पर्यटनले सहजै गुणात्मक फड्को मार्ने देखिन्छ ।
४५ वर्ष पुरानो कानुन
आज हामी २०८० सालमा छौं । तर २०३५ को संघीय पर्यटन ऐनबाट चलिरहनु परेको छ । यो ऐन बन्दा ट्रेकिङ, माउन्टेन, इको टुरिज्जम, स्पोर्टस टुरिज्जम, मेडिकल टुरिज्जमको अवधारणा नै थिएन । ४५ वर्ष पुरानो ऐनले नयाँ विषय र समय सुहाउँदो हिसाबले काम गर्न सकेको छैन ।
सरकारका नीति र कार्यक्रमले निजी क्षेत्रलाई समेट्नुपर्ने थियो तर समेट्नुपर्ने मात्रामा समेटिएको छैन । निजी व्यवसायीले खर्बीको लगानीमा होटल बनाइरहेका छन् । सरकारले भने कानुन, नीति, नियमलाई यथास्थितिमा राख्दा अप्ठ्यारो भइरहेको छ । सातै प्रदेशका पर्यटन ऐन आउँदा पनि संघीय ऐन बन्न नसक्नु दुःखद हो ।
ध्यान दिनुपर्ने पक्ष
बनेका विमानस्थलहरू पूर्णक्षमतामा सञ्चालनमा ल्याउनुपर्दछ । सडक बाटो खनिएको छ तर धुलाम्य पार्ने काममात्र भएको छ । त्यसलाई युद्धस्तरमा सक्नुपर्दछ । सरकारी व्यवस्थापन, नीति, नियम र कानुनमा भएको पुरानो ढर्रालाई परिवर्तन गरेर नयाँ सोचअनुरुप विकास गर्नुपर्ने खाँचो छ । बुझनुपर्ने कुरा पर्यटन अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षेत्र हो ।
अहिले अमेरिका, जापान, क्यानडालगायत विकसित देशले जसरी पनि पर्यटकलाई तान्ने नीति लिइरहेका छन् । हामीले पनि नेपालका सम्पदा घुम्न चाहने पर्यटकलाई आकर्षण गर्ने किसिमका नीति, नियम एवं कानुन बनाउने र त्यहीअनुसारको प्रवर्द्धनात्मक कार्य गर्नुपर्दछ । प्रचारप्रसारको कार्य निरन्तर भइरहनु पर्दछ ।
अन्तर्राष्ट्रिय प्रवर्द्धन एकदमै आवश्यक कुरा हो । यद्यपि सरकारी संयन्त्रहरू संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल वायुसेवा निगम, नेपाल पर्यटन बोर्डलगायतले जति गर्नुपर्ने हो त्यति गर्न सकिरहेका छैनन् । प्रायः सबै रुमल्लिरहेको अवस्था छ । ती सरकारी संयन्त्रका प्रमुखहरू अदालतको स्टे अर्डर लिएर काममा लागिरहेको अवस्था छ ।
यता पुरानो पर्यटन ऐन भएकै कारण अहिले पनि होटलहरूलाई उद्योगको रुपमा मान्यता दिइएको छैन सामान्य सेवा व्यवसायीमात्रै भनेर गणना भइरहेको छ । उद्योगको मान्यता हुन्थ्यो भने होटल व्यवसायीले पनि उद्योगले जस्तैगरी ६/७ रुपैयाँ प्रतियुनिटमा बिजुली पाउने अवस्था रहन्थ्यो । अहिले प्रतियुनिटको १६/१७ रुपैयाँ तिरिरहनु परेको छ । बैंकहरूले उद्योग होइन, तरकारी पसले या मोटरसाइकल वर्कसप भनेजस्तै व्यवहार गरिदिँदा अपहेलित महसुस हुनुपरेको छ ।
घोषणाअनुसारको काम
अहिलेसम्म भाषणमा मीठा कुरा र प्राथमिकता आए पनि काममा भने आउनुपर्ने कुराहरू नै आएन । सरकारले पर्यटन दशक त घोषणा गर्यो, चालू आर्थिक वर्षको नीति कार्यक्रम र बजेटले सन् २०२३ सकिँदा समेत एक रुपैयाँ बजेट दिएन । दशकको सचिवालयसमेत गठन भएको छैन । कार्यक्रम के हो भन्ने पनि थाहा छैन । भन्नलाई भनेजस्तो मात्रै भइरहेको छ ।
पर्यटन बोर्डले प्रवर्द्धन गरेर छिमेकी देश भारत र चीनका पर्यटक ल्याउने कामसमेत गर्न सकेको छैन । सडकमार्फत पर्याप्त छिमेकी पर्यटक ल्याउन सक्ने अवस्था भाषणमा मात्रै सीमित बनिरहेको छ । यहाँ अन्तर ष्ट्रिय प्रवर्द्धन गर्ने भनेर खडा भएको नेपाल पर्यटन बोर्डले आफ्नो बजेट अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि नेपालभन्दा बाहिर खर्च गर्ने सक्दैन ।किनकि सार्वजनिक खरिद ऐनले उसलाई बाहिर खर्च गर्नै दिँदैन । अब भने हिजोका दिनमा जस्तो पुस्तक, पोष्टर, पम्प्लेट छाप्ने होइन डिजिटल माध्यम एपमार्फत प्रचार गरिनुपर्दछ ।
कर नतिर्नेको नियमन आवश्यक
यहाँ आन्तरिक पर्यटनलाई व्यवस्थित गरेर जानुपर्दछ । यतिबेला नेपालीलाई सुहाउँदो प्याकेज कार्यक्रम अगाडि बढाउनुपर्ने खाँचो छ । धार्मिक पर्यटनको प्याकेजलाई व्यवस्थित पार्नुपर्दछ । केन्द्रीय र प्रदेश सरकारहरूले आफ्ना कर्मचारीलाई नेपाल दर्शन गर्न लगाएर यसलाई बढावा दिनुपर्ने देखिन्छ । पहिला यससम्बन्धी घोषणा र त्यसको व्यवस्थापन गर्नुपर्दछ ।
हामीले छिमेकी देशका पर्यटक सहजरुपमा नेपाल आउन सक्ने र उनीहरूलाई चाहिने कुरा दिन सक्नेछौं । नेपालमा लाइफ टाइम एचिभमेन्टजस्तै जीवित कुमारीलाई पूजा गर्ने हाम्रो प्रचलन पर्यटकका लागि जिन्दगीभर नबिर्सिने क्षण हुनसक्दछ । माउथ टु माउथ प्रमोशन हुन्छ । त्यो अद्वितीय विषय हो ।
यस्ता कुराहरूलाई योजना बनाएर डिजिटल माध्यमबाट प्रचार–प्रसार गर्नुपर्दछ । अंग्रेजी सबैतिर चाहिन्छ भन्ने हुँदैन । भारतीयहरूलाई भारतका प्रान्तअनुसारका भाषामा र चिनियाँहरूलाई चिनियाँ भाषामा प्रचार–प्रसार गर्ने कामको सुरुवात गर्नुपर्दछ । यस्ता कुराको खाका तयार छ । तर लागू भएको छैन ।
सातै प्रदेशमा विभिन्न कार्यक्रम गर्ने घोषणा भए पनि काम केही नहुँदा समस्या छ । क्षेत्रले भने नेपाल आकर्षक, सुरक्षित र विश्वकै नमुना गन्तव्य हो भनेर गर्नुपर्ने सबै काम गरिरहेको छ । कोभिडका बेला नेपालका निजी क्षेत्रले उत्कृष्ट सेवा दिएर सुरक्षित रुपमा पर्यटकलाई स्वदेश फर्काएको उदाहरण नै काफी छ ।
ध्यान दिनुपर्ने पक्ष भनेको अहिले बुकिङ डट कम लगायतले नेपालका होटलहरू बुक गरिदिन्छन् । त्यो गरेबापत उनीहरू कमिसन खान्छन् । तर त्यसबापत नेपाल सरकारले एक रुपैयाँ पनि कर पाउँदैन । यस्ता पर्यटन क्षेत्रमा रहेको धेरै विषयलाई प्रक्रियामा ल्याएर आवश्यक नियमन भने गरिनुपर्दछ ।
बिग फ्याट वेडिङको उत्कृष्ट गन्तव्य नेपाल
पर्यटकअनुसार उनीहरूका फरक–फरक इच्छा चाहना हुने गर्दछन् । कतिलाई हिमाल, पहाड, झरना, खोला, नाला, जंगल, वन्यजन्तुलगायत प्राकृतिक सम्पदा मन पर्दछ । त्यो सबै हामीकहाँ छ । अहिलेको समयमा पर्यापर्यटन, मेडिकल टुरिज्जममा आउने पर्यटकका लागि यहाँ प्रशस्तै सम्भावना छ । स्पोर्ट्स टुरिज्जमलगायत सबै आयाम यहाँ छ ।
पछिल्लो समय भारतका धनाढ्यहरूले आफ्नो देशभन्दा बाहिर गएर बिहे गर्ने चलन अर्थात् बिग फ्याट वेडिङको प्रचलन बढेर गएको छ । नेपालमा त्यसको प्रबल सम्भावना छ । यसमा व्यवसायीले प्रशस्तै काम गरिरहेका छन् । यस्तो विवाहमा उनीहरूलाई दुई/चार करोड खर्च गर्न कुनै गाह्रो हुँदैन । त्यस्ता पर्यटकलाई नेपालमा आकर्षित गर्न सकिन्छ ।
भ्रमण वर्ष २०२० मा लुम्बिनीबाट सगरमाथा आधार शिविरसम्म म्याराथुन गर्ने, गोक्यो लेक जमेको बेला आइस हक्की खेलाउनेलगायत लाइफ टाइम एक्पिरियन्स हुने गतिविधि ३६ वटा तय गरेका थियौं । त्यस्ता योजनालाई राष्ट्रिय कार्यदिशा बनाएर संगठित रुपमा अगाडि बढाएको खण्डमा प्रशस्तै पर्यटक भित्रिनेछन् ।
मास टुरिज्जम कि क्वालिटी ?
अहिलेसम्म मास टुरिज्जम जसमा सस्ता पर्यटक लक्षित कार्यक्रम भइरहेको छ । लोन्ली प्लानेटजस्ता संसारमा विख्यात साइटहरूले जीवनमा नगई नहुने गन्तव्य भनेर नेपाललाई प्रचार–प्रसार गरिरहेको छ । तर सस्तो गन्तव्यका रुपमा त्यस्ता साइटमार्फत प्रचार भइरहेको छ ।
अब त्यतिले पुग्दैन । हामीले चाहेर वा नचाहेर मास टुरिज्जम भइरहेको छ । अब भ क्वालिटी टुरिज्जममा जानै पर्दछ । केही काम सुरु भएका छन् । अहिले मुस्ताङमा सिन्तामणि भन्ने रिसोर्ट खोलिएको छ । त्यो एकदमै महँगो छ । त्यहाँ न्यूनतम ४÷५ रात बस्नुपर्दछ । हजारौं डलरमा मात्र त्यहाँ कारोबार हुन सक्दछ । सय जनामात्रै त्यस्ता ठाउँमा पुग्ने पर्यटक ल्याउन सके अर्थतन्त्रलाई ठूलो फाइदा पुग्नेछ ।
त्यसैले आर्थिकरुपमा फाइदा हुने किसिमका पर्यटक ल्याउने हाम्रा गतिविधि अगाडि बढाउनै पर्दछ । धेरै पर्यटकमात्रै हाम्रो चाहना होइन, गुणस्तरीय पर्यटक नै चाहिन्छ । भुटानीहरूले हजारौं पर्यटक ल्याएर हामीले ल्याएको लाखौं पर्यटकबाट भन्दा बढी लाभ लिइरहेका छन् ।
हाम्रो खुला अर्थतन्त्रमा त्यो सम्भव नहोला तर हामीले गुणस्तरीय पर्यटक ल्याउन आधारभूत कुराहरू गर्नुपर्दछ । गुणस्तरमा जान खर्च गर्न सक्ने पर्यटकलाई उच्च गुणस्तरको सेवा दिएर नेपाल ल्याउनुपर्दछ ।
पूर्वाधार विकासमा जोड
अहिले प्रधानमन्त्रीस्तरबाट निर्माण गर्नुपर्ने पूर्वाधारका विषयमा कुरा उठेका छन् । कोभिडपछिको गाह्रो अप्ठ्यारो, अर्थतन्त्रमा संकटजस्ता विषयलाई सम्बोधन गर्नुपर्दछ । उत्पादन र सेवाको माग बढ्न सकेका छैनन् । यसलाई समीक्षा गर्नुपर्दछ । पर्यटन ऐन समय सुहाउँदो बनाउनुपर्दछ ।
बनेका विमानस्थल चाँडो सञ्चालनमा ल्याउनुपर्दछ । सडक बाटो चुस्त दुरुस्त बनाउनुपर्दछ । सातै प्रदेश सरकारले पर्यटनलाई प्राथमिकता दिएका छन् । पर्यटनका ठाउँहरू प्रशस्तै छन् । ती ठाउँहरूमा सरकारले बाटो घाटो, पानी बिजुलीलगायत पूर्वाधार बनाएमा अरु विषय निजी क्षेत्र आफैँले गर्दछ । प्रदेश र केन्द्र सरकारले योजना बनाएर सहजीकरण गरेमा बाँकी सबै निजी क्षेत्रले गर्दछ ।
नेपालको पर्यटन प्रकृतिले नै दिएको उपहार हो । बुद्ध जन्मिएको लुम्बिनी, विश्वकै सर्वोच्च शिखर सगरमाथा, आराध्यदेव पशुपतिनाथलगायत उत्कृष्ट सम्पदा हामीकहाँ छन् । त्यसैले पर्यटक यहाँ नआएर अन्त जाने अवस्था नै छैन । पर्यटकको आम्दानी दोब्बर, तेब्बर बनाउन त्यसलाई व्यवस्थित गर्नुपर्दछ । हामीले पर्यटकलाई खर्च गर्ने ठाउँ दिनुपर्दछ । पर्यटकको बसाइ लम्ब्याउने कार्य गर्नुपर्दछ ।
पर्यटकीय गन्तव्य बढाउनुपर्दछ । विस्तारै गुणस्तरीय पर्यटक वा बढी खर्च गर्न सक्ने पर्यटक बढाउन सक्नुपर्दछ । २००७ सालबाट सुरु भएको नेपालको पर्यटनले करिब ७३ वर्षको इतिहास पार गरिसकेको छ । हामीले यो मुलुकमा प्रतिवर्ष ५० लाख पर्यटक भित्र्याउन गाह्रो विषय हुँदैन । करिब १७ खर्ब रकम हाराहारीको लगानी पर्यटन क्षेत्रमा छ । ११ लाखले प्रत्यक्ष/अप्रत्यक्षरुपमा रोजगारी पाइरहेका छन् । विश्व बैंकले ७.९ प्रतिशत भने पनि जीडीपीमा ३.२ प्रतिशत योगदान पर्यटन क्षेत्रको छ भनिन्छ ।
दिवंगत मन्त्री सुरु गर्दा रवीन्द्र अधिकारीले स्याटेलाइट तथ्याङ्क गर्ने भनेर त्यो बेलामा नै पर्यटन क्षेत्रको योगदान १० प्रतिशत हाराहारी पुग्न सक्ने भनिन्थ्यो । अब राष्ट्रिय कार्यदिशा र कार्यनीति बनाएर सरकार र निजी क्षेत्रले एउटै लक्ष्यका साथ संयोजन गरेर काम गरेमा नेपालको पर्यटन आर्थिक समृद्धिको लागि दरिलो खम्बा बन्नेछ ।
(लेखक विनायक शाह होटल संघ नेपाल (हान) का अध्यक्ष हुन् । प्रस्तुत लेख, इमान जर्नलबाट साभार)
Advertisment