Below Menu
Below Menu

ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न आम ऋणीलाई अर्थमन्त्रीको आग्रह

ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न आम ऋणीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न आम ऋणीलाई आग्रह गरेका छन् । ‘लिएको ऋण तिर्न पर्दैन, हामी माफी गर्दिन्छौँ भन्दै आशा जगाएर स्वार्थ समूह खेल्न खोज्दैछ । बचतकर्ताको बचतबाट लगेको ऋण कदापी मिनाहा हुँदैन । बरु सरकारले सहजीकरण गरेको छ । ऋण त तिर्नैपर्छ । तिर्न पर्दैन भन्ने प्रवृति परास्त हुन्छ’ डा. महतले भने । ऋण तिर्न पर्दैन भनेर भ्रम फैलाउनेलाई राज्यले सहन नसक्ने महतको चेतावनी थियो । 

‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित सुरु भएको सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले भने, ‘ऋण नतिर्न उस्काउने खतरनाक प्रवृत्ति हो । सरकार चुप लाग्दैन, सरकारको साथमा लघुवित्तकै सदस्य र बचतकर्ता मिलेर गलत प्रवृत्तीलाई हराउनुपर्छ ।’

‘अहिले लघुवित्तमा केही समस्या देखिएको छ, यसलाई कसरी स्वस्थ बनाउने भन्ने सबैको चिन्ताको विषय हो । केही समस्यालाई देखाएर स्वार्थ समूहले खेल्ने प्रयास गरेको देखिएको छ, यस्तो राम्रो क्षेत्रलाई राजनीतिकरण गर्न खोज्नेहरुलाई कदापी सफल हुन दिनेछैनौँ’, उनले भने ।

लघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक वित्तिय पहुँचमा पुग्न सफल भएको बताए । नेपालका विपन्न वर्ग, गरिब र महिलामा लघुवित्त क्षेत्रले ठूलो उत्साह भरेको उल्लेख गर्दै डा. महतले जीविकोपार्जनमा समेत महत्वपूर्ण भूमिका खेलेको बताए । ७७ वटै जिल्लामा फैलिएका लघुवित्तले गाउँ गाउँका नागरिकमा बचत र ऋण परिचालनको ज्ञान समेत दिएको उनको भनाई थियो ।

प्रजातन्त्र र लोकतन्त्र आएपछि नेपालमा लघुवित्त र सहकारीमा धेरै विकास भएको स्मरण गर्दै उनले गरिबीलाई शून्यमा झार्ने, स्थानीय स्तरमा लघुउद्यम र स्वरोजगार बनाउने तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न धेरै सहयोग पुगेको उल्लेख गरे ।

लघुवित्तले अब आफ्नै उदेश्य अनुसार मात्रै काम गरेर आफूलाई सुधार गर्नुपर्ने अर्थमन्त्रीका सुझाव थियो । लघुवित्तलाई नाफा कमाउने औजारको रुपमा नलिएर ग्रामिण विकास, लघु उद्यम र स्वरोजगारलाई केन्द्रमा राखेर काम गर्नुपर्ने पनि उनको आग्रह छ । 

Advertisment

थप समाचार