काठमाडौं : केही व्यक्ति तथा समूहले फैलाएका भ्रामक तथा तथ्यहिन विषयको पछि नलाग्न बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले आग्रह गरेको छ ।
भ्रामक तथा तथ्यहिन विषयको पछि नलागी आफू सम्बद्ध बैंक तथा वित्तीय संस्थाहरुको वास्तविक तथ्यहरुका बारेमा बुझ्न सिबिफिनको आग्रह छ । बैंक तथा वित्तीय संस्थाहरुको विरुद्धमा विगत केही दिनदेखि केही व्यक्ति-समूहबाट बैंक तथा वित्तीय संस्थाहरुको साख, गरिमा, विश्वसनियतामा ठेस पुग्ने गरी विभिन्न अफवाह फैलाउने र आशंका एवं अविश्वास बढाउने काम भएको भन्दै सिबिफिनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको छ ।
सवल नियमनकारी निकायको सुक्ष्म निगरानीमा तथा प्रचलित कानून तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरुको अक्षरशः पालना गर्दै संचालित बैंक तथा वित्तीय संस्थाहरुको अत्यन्त सवलीकरण र पारदर्शीरुपमा संचालन हुने सुनिश्चितता गर्न सिबिफिनले आग्रह गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक परिसूचकहरु क्यापिटल एडुकेसी रेसियो, लिक्वडिटी रेसियो, सिडी रेसियो, क्यास रिजर्भ रेसियो लगायतका विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय परिसूचकहरुको सम्बन्धमा नियममितरुपमा आन्तरिक तथा नियामकमार्फत समेत अनुमगन हुने र सो सम्बन्धी केही कैफियत भए तुरुन्त समाधान गर्न निर्देशन दिने र निर्देशन पालना नभए कानून बमोजिम कारबाही हुने व्यवस्था रहेको स्मरण गराएको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाखसम्मको निक्षेप सरकारद्वारा स्थापना गरिएको “निक्षेप तथा कर्जा सुरक्षण कोष” मार्फत सुरक्षण गरिएको हुने जनाएको छ ।
पुस मसान्तसम्म कुल ग्राहस्थ उत्पादनको ११३.९३ प्रतिशत निक्षेप, कुल ग्राहस्थ उत्पादनको ९४.४७ प्रतिशत कर्जा लगानी, ६ हजार ४४१ शाखा संजाल रहेको बैंक तथा वित्तीय संस्थाहरुको मुख्य वित्तीय परिसूचकहरु स्वस्थ एवं सवल रहेको जनाएको छ । सर्वसाधारण निक्षेपकर्ता तथा समग्र ग्राहक वर्गको हकहितका विषयमा कुनै पनि जोखिम सृजना नभएको जनाएको छ ।
Advertisment