काठमाडौं : चालु आर्थिक वर्षको पुस मसान्त्सम्म लघुवित्त कम्पनीहरुले कृषि क्षेत्रमा २ खर्ब बढी कर्जा प्रवाह गरेका छन् । यस अवधिमा संस्था कुल लगानीको ४८.९२ प्रतिशत हिस्सा अर्थात २ खर्ब १५ अर्ब ६ करोड रुपैयाँ लगानी गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरुको गैर स्थलगत सुपरिवेक्षण प्रतिवेदनमा लघुवित्त वित्तीय संस्थाहरुबाट कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सामा सामान्य वृद्वि भएको देखिएको हो ।
गत असार मसान्तमा कृषि क्षेत्रमा ४८.३२ प्रतिशत कर्जा प्रवाह भएको थियो । आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा मध्ये घरेलु तथा लघु उद्योग क्षेत्रमा ४.४२ प्रतिशत र सेवा व्यवसाय क्षेत्रमा २५.९१ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म कम्पनीहरुले कृषि, घरेलु तथा लघु उद्योग, सेवा व्यवसाय, थोक कर्जा र अन्यमा क्षेत्रमा गरी कुल ४ खर्ब ३९ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यस अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा रकममा उल्लेखनिय वृद्वि भएको छ । कम्पनीहले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम गत असारको तुलनामा १०.३२ प्रतिशतले ह्रास भई यस अवधिमा ५४ अर्ब ८ करोड पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीहरुको कुल कर्जा तथा सापटीमध्ये निष्कृय कर्जा एक अर्ब २२ करोड अर्थात २.२५ प्रतिशत रहेको छ । गत असार मसान्तमा निष्कृय कर्जाको अनुपात ०.७१ प्रतिशत रहेको थियो भने २०७९ पुस मसान्तमा यस्तो अनुपात ०.८७ प्रतिशत मात्र रहेको थियो ।
समीक्षा अवधिमा निष्क्रिय कर्जा १८५.६५ प्रतिशतले बढेको छ भने सक्रिय कर्जा ११.७१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा निष्क्रिय कर्जा १२१.०२ प्रतिशतले बढेको थियो भने सक्रिय कर्जा २.६९ प्रतिशतले बढेको थियो । पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक संस्थाहरुले पुनरतालिकिकरण गरेको कर्जा रकम २६ करोड रहेको छ ।
Advertisment