Below Menu
Below Menu

पर्यटक आगमनले होटलको व्यवसायमा उछाल, ४८.२० प्रतिशतले बढ्यो नाफा 

पर्यटक आगमनले होटलको व्यवसायमा उछाल, ४८.२० प्रतिशतले बढ्यो नाफा 

काठमाडौं : पछिल्लो समय पर्यटन आवागमनमा वृद्धि भएसँगै होटल तथा पर्यटन व्यवसायमा उल्लेख्य वृद्धि भएको छ । सन् २०२३ को जनवरी देखिनै पर्यटन आवागन उच्च छ ।

पर्यटन आवागमनको सरकारी लक्ष्य पनि पुरा भएको छ । कोरोना महामारीले थलिएको यो क्षेत्रमा अहिले निकै सुधार भएको देखिन्छ । अर्थतन्त्रको बलियो खम्बा मानिएको यो पर्यटन क्षेत्रले लयमा फर्किएको छ । 

नेपालमा विदेशी पर्यटकको संख्या बढ्दा यसको प्रत्यक्ष प्रभाव होटल व्यवसायमा देखिएको छ । विदेशी पर्यटकहरुको बढ्दो आगमनले होटलहरुको नाफामा सुधार देखिएको हो । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तीय विवरण हेर्ने हो भने गत वर्षको पुसको तुलनामा होटलहरूको खुद नाफा औसत ४८.२० प्रतिशतले बढेको छ । हाल बजारमा होटल तथा पर्यटन समूहका ६ कम्पनी सूचीकृत छन् ।

पुस मसान्तसम्म उक्त कम्पनीको कुल खुद नाफा ४४ करोड ९५ लाख रुपैयाँ छ । जबकी गत आवको सोही अवधिमा यस्तो नाफा ३० करोड ३३ लाख रुपैयाँ थियो । सूचीकृतमध्ये सिटि होटल नोक्सानीमा रहेको छ भने अन्य सबै कम्पनीहरु नाफामा रहेका छन् । 

सञ्चालित कम्पनीहरुमा चन्द्रागिरि हिल्स र कालिञ्चोक दर्शनको मुख्य व्यापार केबुलकार सञ्चालन बापत सेवा शुल्क हो भने सोल्टी, तारागाउँ रिजेन्सी, ओरियन्टल र सिटीको मुख्य व्यापारमा होटल व्यवसाय रहेको छ ।

बाह्य पर्यटक संख्या बढ्दा आम्दानीमा सकारात्मक टेवा पुग्न गई नाफामा सुधार भएको होटलहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

सोल्टी होटल

चालु आवको पुस मसान्तसम्म आइपुग्दा सोल्टी होटलले २६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४.६४ प्रतिशतले बढी हो । गत वर्ष होटलले २५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा होटलको व्यवसायिक आम्दानीमा वृद्धि भएसँगै वित्तीय खर्च घट्दा नाफा बढेको हो । 

पुस मसान्तसम्म होटलको प्रतिशेयर आम्दानी भने घटेर २.९७ रुपैयाँमा झरेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात ८०.३६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २६.७८ रुपैयाँ रहेको छ ।

दि ओरियन्टल होटल

दि ओरियन्टल होटल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैंमाससम्म ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४६.२४ प्रतिशतले बढी हो । गत वर्ष होटलले ३ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा होटलको व्यवसायिक आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । 

कालिन्चोक दर्शन

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कालिन्चोक दर्शनको खुद नाफा ६.४० प्रतिशतले बढेर ६४ लाख ३४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ६० लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बाह्य तथा आन्तरिक पर्यटन व्यवसायमा सुधार आउँदा कम्पनीको नाफा बढ्न पुगेको कम्पनीले जनाएको छ । 

तारागाउँ रिजेन्सी होटल

तारागाउँ रिजेन्सी होटल लिमिटेडले यस अवधिमा १८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ७१.०७ प्रतिशतले बढी हो । गत वर्ष होटलले १० करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा होटलको सञ्चालन आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । 

चन्द्रागिरी हिल्स

चन्द्रागिरी हिल्स लिमिटेडले समीक्षा अवधिमा कम्पनीले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सिटी होटल्स

सिटी होटल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैंमाससम्म ११ करोड ७९ लाख ९९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्षको सोही अवधिमा १३ करोड २४ लाख ८० हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो । गत आवको सोही अवधिको तुलनामा भने होटलको नोक्सानी घटेको हो । यस अवधिमा होटलको सञ्चालन आम्दानी बढेसँगै नोक्सानी घटेको हो । 

Advertisment