काठमाडौं : नेपाल राष्ट्र बैंकले नेपालको बैंकहरु सुरक्षित रहेको बताउँदै भ्रमको पछाडी नलाग्न आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार एक विज्ञप्ति जारी गर्दै सगम्र बैंक तथा वित्तीय संस्था पछिल्लो अवस्था सक्षम र सबल रहेको बताएको हो ।
यसका साथै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको जनाएको छ ।
बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न समेत राष्ट्र बैंकले आग्रह गरेको छ ।
पछिल्लो समयमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू यस बैंकको निर्देशनअनुरूप नै रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा राष्ट्र बैंकले समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको छ ।
‘बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा यस बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण ÷ सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको हुन्छ’, जारी विज्ञप्तिमा भनिएको छ ।
बैंकिङ क्षेत्र अर्थव्यवस्थाको मेरुदण्ड हो । नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्याउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न यस बैंकलाई कानुनले स्पष्ट जिम्मेवारी दिएको छ ।
सोहीबमोजिम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा यस बैंकले दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा यस बैंकबाट नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको छ।
Advertisment