काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक परिसूचकमा क्रमशः सुधार हुँदै गएको बताएका छन् । नेपाली कांग्रेसको महासमिति बैठकमा देशको वर्तमान आर्थिक स्थितिबारे ब्रिफिङ गर्दै मंगलबार अर्थमन्त्री महतले अर्थतन्त्रमा चुनौती कायमै रहेपनि समष्टिगत अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताए ।
अर्थमन्त्री महतले भने, ‘आर्थिक क्रियाकलापमा विस्तार हुँदै गएको छ । पर्यटन, घरजग्गा, पुँजीबजार, निर्माण, सेवा क्षेत्रका गतिविधिहरु चलायमान हुँदै गएका छन्।चालु आर्थिक वर्षमा आर्थिक वृद्धि सन्तोषजनक रहने विश्व बैङ्कको प्रक्षेपण रहेको छ। नेपालको आर्थिक वृद्धि सन् २०२३/२४ मा ३.९ प्रतिशत रहने विश्व बैङ्कको प्रक्षेपण र सन् २०२५ मा ५ प्रतिशत रहने अन्तराष्ट्रिय मुद्राकोषको प्रक्षेपण रहेको छ ।’
अर्थतन्त्र समस्या मुक्त भई नसकेको बताउँदै उनले समष्टिगत आर्थिक परिसूचकहरु अनुकूल भएपनि राजस्वको अपेक्षित वृद्धिदर हासिल हुन नसक्दा सार्वजनिक वित्त व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए । ‘अर्थतन्त्रका अधिकांश परिसूचक सकारात्मक रहेको भए पनि वास्तविक क्षेत्रमा आर्थिक क्रियाकलापहरुको बिस्तार, उत्पादन र उपाद्कत्व वृद्धि गर्नु एक प्रमुख चुनौती हो’, उनले भने ।
राजश्व र खर्चको वृद्धि अझै न्यून रहनु, पूँजीगत खर्चको प्रभावकारिता अपेक्षित नहुनु, पर्याप्त तयारी बिना बजेट प्रस्ताव गर्ने प्रवृति रहनु, ऋणको मात्रा बढ्दै जानु र भुक्तानी दायित्व उच्च रहनु, अनिवार्य दायित्वको मात्रा बढी रहनु र विकास पूर्वाधारमा लगानीको लागि वित्त दायरा न्यून रहनु नै अहिलेका प्रमुख चुनौती रहेको उनको भनाई छ ।
सार्वजनिक खर्च व्यवस्थापनमा थप गम्भीर खालका चुनौतीहरु रहेका छन्। आयोजनाको अत्यधिक संख्या र सिर्जना भएको दायित्व व्यवस्थापन एउटा संवेदनशील बिषय बनेको छ। बजेट सुनिश्चित नहुदै ठेक्का लगाउने प्रवृतिले थप समस्या सिर्जना गरेको छ। अनिवार्य दायित्वको परिमाण ठूलो रहेको र अनावश्यक देखिएका संरचना खारेज नगर्ने प्रवृति विद्यमान छ। वैदेशिक सहायताको उपयोग क्षमता कमजोर रहेको छ। यस्तो उपयोग विनियोजनको औसत ५० प्रतिशत जति मात्र रहेको उनको भनाई छ ।
संचित कोषलाई सन्तुलित अवस्थामा राख्ने र गैर–बजेटरी मागलाई निरुत्साहीत गर्ने बिषय पेचिलो बनेको बताउँदै अर्थमन्त्री डा. महतले भने, ‘संचित कोष व्यवस्थापन तर्फ संघीय संचित कोष ऋणात्मक रहे पनि प्रदेश र स्थानीय तहका कोषहरु बचतमा रहेकाले समग्र साधन व्यवस्थापनमा भने सन्तुलन कायमै रहेको छ । त्यसैगरी, सार्वजनिक ऋण व्यवस्थापनमा चुनौती कायमै रहेको छ।’
उनका अनुसार मुद्रास्फीति ६.५ प्रतिशतको वार्षिक लक्ष्य भित्रै रहेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनाको औसत उपभोक्ता मुद्रास्फीति ६।४७ प्रतिशत रहेको छ। बाह्य क्षेत्र सन्तुलन कायम भएको छ। साथै, विदेशी विनिमय सञ्चिति सबल रहेको छ। चालु आवमा ९०० मेगावाट बराबरको जलविद्युत उत्पादन थप हुने अनुमान रहेको छ। यसबाट आर्थिक गतिविधिहरू थप गतिशिल हुँदै जाने अपेक्षा रहेको छ।
सन् २०२३ मा पर्यटक आगमन ६५.२ प्रतिशतले वृद्धि भई १० लाख नाघेको छ। जुन कोभिड पछिकै उच्च हो। साथै, चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको छ। वैदेशिक लगानी प्राप्तीमा सुधार हुँदै गएको छ। चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा ३ अर्ब ६४ करोड बराबरको वैदेशिक लगानी भित्रिएको छ। गत आर्थिक वर्षको कात्तिक महिनासम्ममा यस्तो लगानी रू। ४३ करोड मात्र रहेको थियो।
प्रभावकारी मागको सिर्जना गर्न सरकारी खर्च बढाउने, लगानीका साधनको पर्याप्तता सुनिश्चित गराउने र निजी क्षेत्रको मनोवल बढाउने गरी नीतिगत तथा संस्थागत प्रयास भएको उनले बताए । अर्थतन्त्रले गति लिई आर्थिक क्रियाकलापहरुमा बिस्तार भएकोले मध्यमकालमा आर्थिक वृद्धिको लक्ष्य प्राप्तिको आधार तयार भएको समेत उनको दावी छ ।
निजी क्षेत्रसँगको निरन्तर संवाद र सुधारका प्रयासले यस क्षेत्रको मनोबलमा क्रमशः सुधार भएको छ । बजेट अनुशासन कायम गर्न लिइएको प्रयासले साधनको प्राथमिकतापूर्ण परिचालनमा सहयोग पुगेको छ। मौद्रिक नीतिमा हाल गरिएको सुधारले आर्थिक वृद्धिलाई सहयोग पुग्ने अर्थमन्त्री डा. महतको अनुमान छ।
वित्तीय प्रणालीमा लगानीयोग्य पूँजी पर्याप्त अवस्थामा रहेको छ, यसले आर्थिक वृद्धिलाई सघाउ पुर्याउने उनको अपेक्षा छ । उत्पादनमा आधारित अनुदान प्रणालीले अनुदानको उपयोगलाई सहि दिशातर्फ निर्देशित गरेको छ।
न्तराष्ट्रिय आर्थिक सहायता परिचालनमा नेपालको पहिचान बढेको बताउँदै उनले आगामी असारको पहिलो हप्ता विश्व बैङ्करअन्तराष्ट्रिय सहयोग नियोगको सहुलीयतपूर्ण ऋण सम्वन्धी बैठक नेपालमा आयोजना हुने बताए । जलवायु परिवर्तन सम्वन्धमा अन्तराष्ट्रिय मन्चमा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गरेको उनको भनाई छ ।