काठमाडौं : सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले बुक बिल्डिङ विधिमार्फत पहिलो पटक सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको हो । आयोजना प्रभावित स्थानियले नकिनेको सेयर थप गरेर कम्पनीले आजदेखि सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ९ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेको थियो तर २ लाख ४८ हजार ४७० कित्तामा मात्रै आवेदन परेको थियो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरि सकेको छ । कम्पनीले बुक विल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सेयर निष्कासन गर्न लागेको हो । आईपीओमा फागुन १३ गतेदेखि १६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
आईपीओमा लगानीकर्ताले सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसमा न्यूनतम ५० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा आवेदन दिन न्यूनतम १८ हजार ४५ रुपैयाँ लाग्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले सर्वोत्तम सिमेन्टको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । इक्रा नेपालले २०८० असार ६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ असार ६ गतेसम्म बाहल रहनेछ ।
Advertisment