Below Menu
Below Menu

सहकारी समस्याको असर बैंकहरुमा देखिएको हो, बैंक डुब्न दिँदैनौं: गर्भनर अधिकारी 

सहकारी समस्याको असर बैंकहरुमा देखिएको हो, बैंक डुब्न दिँदैनौं:  गर्भनर अधिकारी 

काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ क्षेत्र सहज अवस्थामा रहेको स्पष्ट पारेका छन् । नेपाल बैंकर्स संघले आयोजना गरेको ‘बैंकिङ क्षेत्रको समसामयिक विषय र आगामी बाटो’ अन्तक्र्रिया विषयक कार्यक्रममा बोल्दै उनले नेपालका बैंकहरु डुब्न नदिने बताएका हुन् ।

कार्यक्रम बोल्दै उनले बैंकहरुप्रतिको फैलाईको भ्रमको पछि नलाग्न आग्रह गरे । उनले भने, ‘बैंकहरुलाई बुझ्ने समाज भएन । खराब कर्जा बढेपनि आत्तिनु पेर्न अवस्था छैन । बैंकहरु डुब्ने अवस्थामा छैनन्, राष्ट्र बैंकले हेरिरहेको छ ।’ 

बैंकहरुको आधिकारिक तथ्यांकलाई हेरेर विश्लेषण गर्न आवश्यक रहेको बताउँदै उनले बैंकहरु डुबे भने अर्थतन्त्र पनि संकटमा जाने बताए । यसका साथै बैंकहरुले क्षमता भन्दा बढी ऋण लगानी गर्दा समस्या आएको बताए । ‘ऋणीहरुले आफ्नो घाँटी हेरेर ऋण लिएको भएर र बैंकहरुले पनि ऋण दिने बेलामा सोचेको भए अहिलेका अवस्था सिर्जना हुने थिएन’, उनले भने ।

अर्थतन्त्रमा आएको शिथिलताका कारण बजार मागमा संकुचन आएको उनले बताए । बजारमा देखिएको आथिक मन्दीका कारण ठूला उद्योगमा समस्या हुँदा ऋणको माग बढ्न नसकेको उनले बताए । उनले भने, ‘ठूला उद्योगीले ऋणको माग गर्ने स्थिति छैन । ठूला उद्योगमा समस्या होला यसले गर्दा पनि ऋणको माग घटेको हो । आर्थिक गतिविधि बढेपनि ऋणको माग पनि बढ्छ ।’

पछिल्लो समय अर्थतन्त्रमा सहकारीका समस्या र अनौपचारिक अर्थतन्त्रले निकै असर पारिरहेको उनको भनाई । बैंकहरुको पहुँच ग्रासु रुटमा पुग्न नसकेको बताउँदै उनले साना ऋणीहरुले सहकारीबाट नै कारोबार गर्ने गरेको बताए ।

उनले भने, ‘किराना पसलदेखि साना व्यवसायीसम्म बैंक नपुगेपछि उनीहरु बचत राख्न र ऋण पनि सहकारीमा गए । निक्षेप पनि सहकारी मै राखे । अहिले सहकारीमा समस्या आउदा अर्थतन्त्र मै समस्या जस्तो देखियो ।’

सहकारीमा हुने कारोबारबाट नै बैंकहरु चल्ने भएकाले सहकारी समस्यामा परेका कारण त्यसको असर बैंकहरुमा पनि परेको उनले बताए । ‘साना व्यवसायीहरुले सहकारीबाट नै कारोबार गरेका छन् । उक्त रकम फाइनान्स हुँदै बैंकहरुमा आउने हो । सहकारी समस्यामा परको कारण ऋणीहरु चल्न सकेका छैनन् ।’

सहकारी समस्यालाई समाधान गर्दै जमने हो भने अर्थतन्त्रका समस्याहरु पनि टर्दै जाने उनको भनाई छ । यसका साथै निर्माण व्यवसायीका समस्याले गर्दा पनि अर्थतन्त्र चलायमान हुन नसकेको उनको तर्क छ । 

गर्भनर अधिकारीले भने, ‘सरकारबाट हुने ठूला निर्माण र निजी क्षेत्रबाट हुने विकास निर्माणका काम सुस्त छ । यसले गर्दा पनि अर्थतन्त्रमा असर परेको छ । सरकारले यस्ता गतिविधिलाई बढाउनुपर्छ ।’

आर्थिक गतिविधि सबल रहे पनि फिलिङ अर्कै रहेको उनको बुझाई छ । कोरोना महामारी पछि विभिन्न कारणले विश्वको अर्थतन्त्रमा असर परेको छ । सन् २०२२ मा नेपालको मूल्यवृद्धि कमी भएपनि उत्पादनमा कमी भयो । सन् २०२३ देखि मूल्यवृद्धिमा करेक्सन हुँदै आएको छ ।

करिब १४ महिनाको आयात धान्न सब्ने विदेशी विनिमय सञ्चिति भएपनि त्यसको उपयोग गर्ने नसकेको उनले बताए ।  

Advertisment

थप समाचार