काठमाडौं : तुलसी बहुमुखी सहकारी विरुद्ध एक अर्ब बढीको मागदाबी परेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार उक्त सहकारी विरुद्ध एक अर्ब ४४ करोड ६९ लाख ३ हजार ८४५ रुपैयाँ बराबरको मागादाबी परेको हो ।
उक्त सहकारी विरुद्ध पाँच हजार ३८१ बचतकर्ताले उक्त रकम बराबरको मागदावी गरेका हुन् । समयमा बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मोरङमा कार्यालय रहेको उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।
मन्त्रालयले भदौ २६ गते मंगलबार सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने उक्त संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यताविपरीतको कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन २०७४ को दफा १०४ को उपदफा (१) को व्यवस्थाअनुसार सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा समस्याग्रस्त घोषणा गरेको थियो ।
समस्याग्रस्त घोषणा भएको यस सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गर्नेछ । यी सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको बचत रकम हिनामिना गरेको भन्दै विभागमा उजुरी परेको थियो ।
त्यस्ता उजुरीमाथि विभागले छानबिन गरेपछि समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो । हालसम्म समस्याग्रस्त सहकारीको संख्या १८ पुगेको छ ।
Advertisment